१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कर्णालीमा कोरोना कहर : अस्पतालदेखि अदालत सिल हुँदै खुल्दै

चाँदनी कठायत

वीरेन्द्रनगर — जेठ अन्तिम साता पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमणको दायरा फैलिँदै गएको छ । सुरुमा क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै संक्रमण देखिए पनि क्वारेन्टाइन तथा आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुँदै पछिल्लो समय सार्वजनिक सेवा कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा कोरोना कहर : अस्पतालदेखि अदालत सिल हुँदै खुल्दै

गत बुधबार सुर्खेत जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण फेला पर्‍यो । अदालतले सूचना जारी गर्दै चार दिनसम्म सेवा प्रवाह बन्द गर्‍यो । अन्य कर्मचारीको आरटी–पीसीआर गर्दा सबैको नेगेटिभ आएपछि आइतबारदेखि अदालतले आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिएको छ । ४ दिनसम्म अदालतको सेवा ठप्प भएपछि सेवाग्राही अदालत पुगेर फर्किनुपर्‍यो ।

यस्तै, शुक्रबार राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि बैंंकले पनि एक साताका लागि सेवा बन्द गरेको छ । सबैभन्दा बढी आर्थिक कारोबार हुने बैंक एक साताका लागि बन्द भएपछि सेवाग्राही चिन्तित छन् । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका देवीलाल पौडेलले बैंक बन्द हुँदा आफ्नो काम पाँच–सात दिन पछाडि धकेलिएको बताए । ‘बैंक जाउँला भनेर बसेँ, बन्द होला भन्ने थाहै भएन,’ उनले भने, ‘कोरोनाले सबै क्षेत्र अस्तव्यस्त बनायो ।’

प्रदेश अस्पतालमा पहिलोपटक असार १२ गते दुई जना चिकित्सकमा संक्रमण देखिएको थियो । संक्रमण देखिनासाथ अस्पतालले आकस्मिकबाहेक अन्य सेवाहरु एक हप्ताका लागि बन्द गर्‍यो । गत असारमै तीनजना डाक्टरमा कोरोना पुष्टि भएको थियो । यसअघि संक्रमित चिकित्सकहरु निको भएर काममा फर्किसकेका छन् । अघिल्लो मंगलबार र बुधबार पनि ६ जना चिकित्सकलाई कोरोना देखिएपछि प्रदेश अस्पतालले एक हप्ताका लागि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ । कोरोना संक्रमितहरुको उपचार हुन थालेदेखि नै अस्पताल जान डराउने सेवाग्राही चिकित्सकलाई कोरोना देखिएपछि सेवा लिनका लागि अस्पताल जान डराउने गरेका छन् । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार हाल १० जना चिकित्सक र ७ जना अन्य गरी १७ जना स्वास्थ्यकर्मी प्रदेश अस्पतालको आइसोलेसनमा छन् । हालसम्म कर्णाली प्रदेश अस्पतालका १४ जना डाक्टर, ६ नर्स, ४ जना प्यारामेडिक र १५ जना अन्य गरी ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको फोकल पर्सन न्यौपानले जानकारी दिए ।

प्रदेश राजधानीमा हरेक दिन विभिन्न सार्वजनिक सेवा कार्यालयका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुँदा स्वास्थ्य, सुरक्षा, वित्तीय र अन्य सेवा लिने सेवाग्राहीसमेत मारमा परेका छन् । वीरेन्द्रनगरमा हरेक दिन कोरोना विभिन्न क्लस्टरका व्यक्तिहरुमा संक्रमण बढ्दै जाँदा सार्वजनिक सेवा नै प्रभावित भएको हुन थालेको छ ।

मन्त्रालय पनि बन्द

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत व्यक्तिहरुलाई पनि कोरोना संक्रमण देखिएपछि मन्त्रालयले अत्यावश्यक सेवा बन्द गरेको छ । मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायाका अनुसार ५ दिन अघि एकजना कार्यालय सहयोगी, एक जना सवारी चालक र चारजना सुरक्षाकर्मीमा संक्रमण देखिएपछि सेवा प्रवाह रोकिएको हो । ‘अहिले सबै होम क्वारेन्टाइनमा छौँ,’ उनले भने, ‘सेवा नै त रोकिएको छैन, आवश्यक परेको खण्डमा हामी मन्त्रालय गइरहेका छौँ, आाइतबार पनि उनीहरुका नजिकका व्यक्तिहरुको स्वाब संकलन भएको छ ।’

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भेरीगंगा नगरपालिकाले वडा नम्बर ६ र ९ मा सिल गरेको छ । आइतबार उक्त वडाका दुई जनामा कोरोना संक्रमण देखिएपछि आइतबार रातिदेखि लागू हुने गरी भदौ २८ गते राति १२ बजेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्कका अनुसार जहरे बजार र झिङ्नी बजारमा अत्यावश्यक सेवा बाहेक आवतजावत गर्न नपाइने गरी बैंक तथा वित्तीय संस्थासमेत बन्द गरिएको हो ।

एकैदिन ४२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सुर्खेतका ४२ जनामा कोरोना संक्रमण देखिएको छ, जसमा प्रदेश राजधानी वीरेन्द्रनगरका मात्रै ३२ जना रहेका छन् । चौकुने गाउँपालिकाका ६ जना, चिंगाड गाउँपालिका र भेरीगंगा नगरपालिकाका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ४९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार जुम्लाका ५ जना, जाजरकोटका दुई जना, दैलेखका १, रुकुम पश्चिमका एक जनामा कोरोना पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेका अनुसार सुर्खेतमा पुष्टि भएका ४२ जना ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरु हुन् । ‘पहिला संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई संक्रमण देखिएको हो,’ उनले भने, ‘स्थानीय स्तरमै विभिन्न वैंक तथा वित्तीय संस्थामा काम गर्ने, सवारी चालक, सुरक्षाकर्मीलगायतलाई अहिले संक्रमण देखिएको छ ।’

वीरेन्द्रनगरमा मात्रै अहिलेसम्म १३ वडाका २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार वीरेन्द्रनगर नगरपालिकाका ३, ४ र १२ नम्बर वडा उच्च जोखिममा रहेको देखिन्छ । नगरपालिकाको वडा नम्बर १४ र १५ मा अहिलेसम्म संक्रमित फेला परेका छैनन् । जनस्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले समुदायका विभिन्न क्लस्टर व्यावसायिक क्षेत्र, वैंक तथा वित्तीय संस्था, सञ्चार क्षेत्रका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

प्रकाशित : भाद्र २२, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?