मुगुमा घरै खाली गरेर जडीबुटी टिप्न वन उक्लिए गाउँले

राजबहादुर शाही

मुगु — मुगुम–कार्मारोङ गाउँपालिकाका स्थानीय जडीबुटी संकलन गर्न वनतिर उक्लिएका छन् । यसपालि यार्सा टिप्न नपाएका उनीहरू कुटकी, भोल्ते, अत्तिस, जटामसी, वनलसुन, चिराइतोलगायत जडीबुटीबाट त्यसको घाटा पुर्ताल गर्ने तयारीमा छन् ।  

मुगुमा घरै खाली गरेर जडीबुटी टिप्न वन उक्लिए गाउँले

गाउँलेहरू सातुसामल र कुटो बोकेर लेक उक्लिएपछि गाउँ सुनसान छन् । कोरोनाको त्रासले बजार क्षेत्रका बासिन्दा घरभित्रै बस्न बाध्य भइरहँदा रिउस, ताखा, मुगु, किम्री, मह, माग्री, डोल्फु, पुलुलगायत बस्तीका बासिन्दा जडीबुटी संकलनमा जुटेका हुन् ।

‘यार्सा टिप्न पाइएन, अब अरू जडीबुटी कोर्न वनतिर जान्छौं,’ किम्रीका नोबुछिरिङ लामाले भने ।

स्थानीय स्तरमै व्यापारीले नै खरिद गर्न थालेपछि गाउँलेबीच जडीबुटी कोर्ने हानथाप छ । स्थानीय विभिन्न प्रजातिका जडीबुटी कोर्न लेकतिर गएपछि गाउँ सुनसान भएको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए ।

‘गाउँपालिकाले यार्सा कोर्न प्रतिबन्ध लगाए पनि अन्य जडीबुटी कोर्न प्रतिबन्ध लगाएको छैन,’ उनले भने, ‘त्यसैले गाउँले घरै खाली गरेर अत्तिस, चिराइतो, भोल्ते, जटामसी कोर्न लेकतिर गए ।’ यार्सा टिप्न जिल्लाबाहिरबाट पनि आउने र अरू जडीबुटी कोर्न गाउँले मात्र लेकतिर जाने भएकाले कोरोनाको जोखिम भने त्यति नहुने उनको भनाइ छ ।

छायानाथरारा नगरपालिकाका घट्टलेक, तल्ललेख, सोभा, बाम, पिना, मुन्दु, कोटिला, थार्पलगायत बस्तीका स्थानीय पनि लेकतिर जडीबुटी छिप्न उक्लिएका छन् । तीमध्ये कोही वनक्षेत्रमै बास बस्छन् भने कोही बेलुकी घर फर्कन्छन् ।

कोरोनाले विकास–निर्माणका काम ठप्प भएको र खेतबारीमा अन्नबाली भित्र्याउने समय नभएकाले लेकाली बस्तीका बासिन्दा पैसा कमाउने उद्देश्यले जडीबुटी संकलनमा जुटेको ७ नम्बर वडाध्यक्ष हरिचन्द्र शाहीले सुनाए । रारातालनजिकै रहेको मुर्मा गाउाका ७६ परिवार जडीबुटी कोर्न वनपाखातिर दौडधुप गरिरहेका छन् । उनीहरू चुचुमारे, मुर्माटप, बाघदुलालगायत वनक्षेत्र पुगेका छन् ।

कोरोनाले रारामा पर्यटक नआउँदा स्थानीयको आम्दानी शून्य भएपछि जडीबुटी संकलनमा लागेको रारा निकुञ्जका कर्मचारीको भनाइ छ । गाउँलेको जीवन निर्वाहको मुख्य स्रोत नै जडीबुटी भएकाले गाउँले कोरोना महामारीको ख्यालै नगरी जडीबुटी संकलनमा लागेको वन डिभिजन कार्यालयका सूचना अधिकारी वसन्तकुमार शाहीले बताए ।

प्रकाशित : भाद्र १७, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?