गलत डिजाइनले ७ वर्षदेखि पुल अलपत्र

भीमबहादुर सिंह

जाजरकोट — छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल ७ वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।

गलत डिजाइनले ७ वर्षदेखि पुल अलपत्र

सडक विभाग र आईएमई/आरसी कन्सलटेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् ।

सदरमुकाम खलंगासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको स्थानीय कमल सिंहले बताए । ‘ठेक्का सम्झौता भएको ७ वर्ष बित्दा पनि जग खन्ने काम भएको छैन,’ उनले भने, ‘सरोकारवाला निकायले सक्रियता देखाएको भए २ वर्षमै पुल निर्माणको काम सकिन्थ्यो ।’

पुल नहुँदा वर्षेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । ३ करोड रुपैयाँ लागतको पुल निर्माणका लागि ७ वर्षअघि लुम्बिनी/आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

परामर्शदाता कम्पनी आईएमई/आरसी कन्सलटेन्सीलाई ७ लाख रुपैयाँमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारबाही गर्न नसकेको सडक डिभिजन कार्यालय, चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए । ‘पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भयो,’ उनले भने, ‘परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।’

६ वर्षअघि निर्माण कम्पनीले साइड हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । सडक विभागले उक्त डिजाइन रद्द गरी नयाँ डिजाइन ठेकेदार कम्पनीलाई दिएको छ । ‘नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार पुल निर्माण गर्न नसक्ने भन्दै ठेकेदारले काम अघि बढाएका छैनन्,’ डिभिजन प्रमुख भट्टले भने, ‘अब वर्षा सकिएलगत्तै काम अघि नबढाए ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ टेन्डर आह्यान गरिनेछ ।’ नयाँ डिजाइनअनुसार करिब ३ करोड रुपैयाँ लगानीमा २५ मिटरको पुल बन्ने उनले बताए ।

भेरी करिडोरमा ११ पुलको टेण्डर

सडक विभागको पुल महाशाखाले भेरी करीडोरमा ११ पुल निर्माणका लागि टेन्डर आह्यान गरेको छ । जाजरकोट खण्डमा ७ र डोल्पा खण्डमा ४ पुल निर्माणका लागि टेन्डर आह्वान गरिएको हो ।

भेरी करीडोरको जाजरकोट–डोल्पा सडकमा झण्डै डेढ दर्जन पुल निर्माण आवश्यक छ । चालु आर्थिक वर्षमा जाजरकोट खण्डको पिपेखोला, झुमराखोला, नलगाडखोला, तात्रगाड, तासुगाडलगायत खोलामा ७ पुल निर्माणको ठेक्का खोलिनेछ । डिभिजन कार्यालयका अनुसार डोल्पा खण्डको खदाङ, त्रिपुराकोट, रुपगाडलगायत ४ खोलामा पनि पुल निर्माणका लागि टेन्डर आह्वान गरिएको छ ।

जाजरकोटको पासागाडदेखि १ सय १६ किलोमिटर सडकको ट्रयाक खुले पनि विभिन्‍न नदी र खोलामा पुल नबन्दा डोल्पासम्मको यातायात नियमित बन्न सकेको छैन । सरकारले रुपैडियादेखि चीनको सिमाना धो भोटसम्मको ४ सय किलोमिटर दूरीको सडकलाई भेरी करिडोर मानेको छ ।

प्रकाशित : भाद्र १६, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?