इलाका प्रशासन चार वर्षदेखि प्रमुखविहीन- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाका प्रशासन चार वर्षदेखि प्रमुखविहीन

राजबहादुर शाही

सोरुकोट (मुगु) — जिल्लाको एक मात्र इलाका प्रशासन चार वर्षदेखि कार्यालय सहयोगीको भरमा छ । सोरु गाउँपालिकाको सोरुकोटमा स्थापना गरिएको कार्यालयमा आवश्यक कर्मचारी नहुँदा स्थानीयलाई नागरिकतालगायत सेवा लिन सास्ती भएको छ ।

सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल गर्न दल र जनप्रतिनिधिको हानथाप छ तर सँगै रहेको इलाका प्रशासन प्रमुखविहीन हुँदा कसैलाई चासो छैन ।

सुरुको एक वर्ष तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर पौडेल बसेर स्थानीयलाई नागरिकता प्रदान गरे पनि उनी सरुवा भई जिल्लाबाहिर गएपछि काम ठप्प छ । गृह मन्त्रालयले अर्को व्यवस्था नगर्दा कार्यालय सहयोगी गोर्ख मल्ल र जनक रोकायले कार्यालय खोल्दै आएका छन् । उनीहरूले पनि मन नलागे कार्यालय नखोल्ने गरेको स्थानीय बताउँछन् ।

इलाका प्रशासनमा प्रमुख नहुादा जिमा, नार्थपु, फोतु, भिई, कालै, धैनकोट, रारा, कच्चे, गिलाहा, बुम्च, सिपलगायत बस्तीका स्थानीय नागरिकता लिन दुई दिन हिँडेर जिल्ला पुग्न बाध्य छन् । इलाका प्रशासन कार्यालय पियनको भरमा रहँदा सर्वसाधारणले नागरिकता बनाउन जिल्ला पुग्नुपरेको सोरु गाउापालिका प्रमुख लोकबहादुर शाहीले बताए । ‘सरकारले कि इलाका प्रशासन खारेज गर्नुपर्छ कि कार्यालय प्रमुखको व्यवस्था गरी स्थानीयलाई नागरिकता दिन थालनी गर्नुपर्छ,’ उनले भने । इलाका प्रशासनमा निःशुल्क प्राप्त हुने नागरिकताका लागि जिल्ला जाादा होटल, खाना खर्च गरी एक जनालाई ५ हजारसम्म खर्च हुने गरेको सोरुकोट गाउाका टक्क शाहीको भनाइ छ ।

‘सोरुकोट इलाका प्रशासनमा एक जना प्रमुखको व्यवस्था गरिदिनुपर्‍यो भनेर गृह मन्त्रालयमा बारम्बार मौखिम र पत्रमार्फत भनेका भन्यै छौं,’ प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले भने, ‘अहिलेसम्म कार्यन्वयन भएन ।’

छिमेकी हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय पनि चार वर्षदेखि कार्यालय सहयोगीकै भरमा छ । उक्त इलाका प्रशासनमा प्रमुख नहुादा सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका स्थानीय नागरिकता लिन चार दिन हिँडेर सिमकोट पुग्न बाध्य छन् ।

‘चार वर्षदेखि यहाँको इलाका प्रशासन प्रमुखविहीन हुँदा स्थानीयलाई नागरिकता लिन चार दिन हिँडेर सिमकोट पुग्न सास्ती परेको छ,’ सर्केगाड गाउँपालिकाका उपप्रमुख जोशी धामीले भने ।

प्रकाशित : भाद्र १५, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

न पाटनको यार्चा, न भोटको व्यापार

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिका–६, रिउसका ४९ वर्षीय कार्मा लामाले यो वर्ष यार्चा टिप्‍न पाएनन् । न उनी भोटमा लाग्‍ने अस्थायी हाटबजार नै गए ।

उनी मात्र होइन, मुगम कार्मारोङका अधिकांश बासिन्दाले यस वर्ष यार्चा टिप्‍न पाएनन् । स्थानीयले नेपाल–तिब्बत सीमामा लाग्‍ने अस्थायी हाटबजारमा गइ यार्चालगायत जडीबुटी बिक्री गरेर वर्षभरि चाहिने खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने गरेका थिए ।

तिब्बत सरकारले वर्षेनि नेपाल–चीन सीमाको हयाजिमारमा १५ दिने अस्थायी हाटबजार लगाउने गरेको थियो । तर कोरोना महामारीका कारण अस्थायी हाटबजार अनिश्चित बनेको छ ।

यार्चा टिप्‍न नपाउँदा परिवार पाल्न समस्या भएको लामाले बताए । ‘गाउँपालिकाले यार्चा टिप्‍न प्रतिबन्ध लगायो,’ उनले भने, ‘चीनमा पनि हाटबजार नलाग्ने भएछ ।’ उनका अनुसार हरेक वर्ष साउन १५ पछि अस्थायी हाट लाग्ने गरेको थियो ।

महामारीका कारण हाटबजार अनिश्चित बनेपछि मुगु, चितै, दाउरा, पूलु, माग्री, मह, कार्तिक, किम्री, डोल्फू,पूलु, रिउसलगायत गाउँबस्तीका बासिन्दा चिन्तित भएका छन् । सन् १९८५ नेपाल–चीन सीमामा हाटबजार लाग्दै आएको महगाउँका छिरिङतोर्चे लामाले बताए ।

‘पाटनको यार्चा पाटनमै कुहियो,’ उनले भने, ‘चौरी लिएर सामान किन्न भोट जाने आशा थियो, त्यो पनि तुहियो ।’ उनका अनुसार २०५८ सालदेखि मुगुका बासिन्दाले उक्त हाटबजारमा यार्चा बिक्री गरिरहेका थिए । भोटतिर बिक्री गर्नका लागि घरमा तयार गरेको जौ, सातु, उवा र केही जडिबुटी खेर गएको उनको गुनासो छ ।


कोरोना महामारीका कारण व्यापार गर्न भोटतिर जान नपाएपछि घाडेटो बाटो निर्माण गर्दै मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

भौगोलिक विकटता, भिरालो जमिन र सिँचाइ सुविधाको कमीका कारण मुगम कार्मारोङमा खाद्य उत्पादन न्यून हुन्छ । स्थानीयले पाटनको यार्सा र भोटको व्यापारले वर्षभरिको जीवन निर्वाह गर्दै आएको माग्रीगाउाका टाँसी लामाले बताए । ‘आफ्नै जिल्लाभित्रको खाद्यबस्तु लत्ताकपडा महँगो हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षौदेखि तिब्बती बजारको भर पर्दै आएका छौं ।’

कोरोना महामारीका कारण गाउँपालिकाका झण्डै १३ सय परिवारलाई जीविकोपार्जनमा समस्या भएको मुगुम कार्मारोङ–२ का वडाध्यक्ष कार्मा लामा बताए । ‘विगत वर्षमा साउन १५ पछि तिब्बतमा सामान किन्न जानेको लर्को हुन्थ्यो,’ उनले भने, ‘अहिले सबैतिर सुनसान छ ।’

कोरोनाका कारण यस वर्ष हाटबजार नलाग्ने जानकारी आएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पाटन र तिब्बत जान नपाएपछि स्थानीयबासी निरास छन्,’ उनले भने, ‘स्थानीयलाई रोजगारी दिन र जीविकोपार्जन सहज बनाउन विकास निर्माणमा जोड्ने हाम्रो योजना छ ।’

प्रकाशित : भाद्र १४, २०७७ १६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×