उपचार अभावमा दैलेखमा सुत्केरीको मृत्यु

ज्योति कटुवाल

दैलेख — ठाँटीकाध गाउँपालिका–१, सिरागीकी २३ वर्षीया र्पावती शाहीलाई शुक्रबार दिउँसो सुत्केरी व्यथाले च्यापेपछि आफन्त र छिमेकीले प्राथमिक स्वास्थ्य केन्द्र, लकान्द्रा पुर्‍याए ।

उपचार अभावमा दैलेखमा सुत्केरीको मृत्यु

सुत्केरी भएपछि लगातार रक्तश्राव हुन थालेपछि स्वास्थ्यचौकीले जिल्ला अस्पताल रिफर गर्‍यो । तर आर्थिक समस्याका कारण परिवारले गाडीको जोहो गर्न नसक्दा उपचार नपाएर उनको ज्यान गएको हो ।

जिल्लाको सबैभन्दा दुर्गम मानिने गाउँपालिकामा एउटा पनि एम्बुलेन्स छैन । परिवारका सदस्य, आफन्त र छिमेकीले पटकपटक गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधिलाई गाडीको व्यवस्था गरिदिन अनुरोध गरे पनि बेवास्ता गर्दा सुत्केरीको ज्यान गएको हो । ‘उनलाई ११ बजे स्वास्थ्यचौकीमा पुर्‍याइएको थियो, सुरुमा स्वास्थ्यचौकीले नै रिफर गर्न ढिलाइ गर्‍यो,’ मृतकका अंकल टेकबहादुर शाहीले भने, ‘जनप्रतिनिधिलाई गाडीको व्यवस्था गरिदिन २० औं पटक फोन गर्‍यौं, तर बेवास्ता गरेपछि सुत्केरी भएको ४ घण्टामै उपचार नपाएर ज्यान गयो ।’ घरको आर्थिक अवस्था कमजोर हुँदा आफै गाडीको व्यवस्था गर्न नसकिएको उनको गुनासो छ ।

मृतकले छोरीलाई जन्म दिएको र उनको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्र १ वर्षयता डाक्टरविहीन हुँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । केन्द्रले सञ्चालन गरिरहेको एम्बुलेन्स बिग्रिएपछि सुत्केरीको समयमै उद्दार हुन नसकेको अनमी मन्जु शाहीले बताइन् । ‘सुत्केरी भएलगत्तै रत्तश्राव हुन थाल्यो,’ उनले भनिन्, ‘हामीले रक्तश्राव रोक्न विभिन्न उपाय गरे पनि सफल नभएपछि जिल्ला अस्पताल रिफर गरिएको हो ।’ उनका अनुसार सुत्केरी भएलगत्तै बेहोस भएकी शाहीको होसमै नआएर ज्यान गएको थियो ।

स्वास्थ्य केन्द्रको लापर्बाहीले सुत्केरीको ज्यान गएको भन्दै आफन्तले शनिबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । ‘स्वास्थ्य केन्द्रले समयमै रेफर गरेन, जनप्रतिनिधिले गाडीको व्यवस्था गरिदिएनन्,’ मृतकका भतिजा सर्जन शाहीले भने, ‘समयमै उपचार पाएको भए उनको अकालमा ज्यान जाने थिएन ।’

प्रकाशित : भाद्र १३, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?