४ दिनदेखि मुसीकोटमा निषेधाज्ञा

हरि गौतम

रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा ४ दिनदेखि निषेधाज्ञा जारी छ । सदरमुकामकै १ हेयर कटिङ व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

पहिलो सूचनाअनुसार निषेधाज्ञा आगामी मंगलबारसम्म जारी हुनेछ । सदरमुकामबाट २ सय २१ जनाको स्वाब संकलन गरी परीक्षण गरेकामा ती व्यवसायीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको पसलमा धेरैजना गएको र उनीहरु पनि बजार घुम्‍ने भएकाले ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–१ स्थित स्वास्थ्य सेवा कार्यालयदेखि खलंगा, सेरीगाउँ हुँदै शितलपोखरी, ३ नम्बर वडाको पिपलनेटादेखि सेरीगाउँ हुँदै ६ नम्बर वडा कार्यालयसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि मुसीकोट नगरपालिकाले स्वाब संकलन थालेको छ । संक्रमितको सम्पर्कको आधारमा स्वाब संकलन थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएकामा ३ जना मात्रै सक्रिय संक्रमित छन् ।

प्रकाशित : श्रावण ३१, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?