३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मुगुका १२ गाउँ पहिरोको उच्च जोखिममा

राजबहादुर शाही

मुगु — मुगुका १२ वटा गाउँ पहिरोको उच्च जोखिममा छन् । रिघा, कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, गमगढी, गाडेखोला, भटडाडी, चरापलगायत बस्ती पहिरोको जोखिममा परेका हुन् ।

छायानाथरारा नगरपालिकास्थित २१ घरधुरी रहेको भियालबाडा दलित बस्तीमा वर्षा सुरु भएसँगै गाउँमाथिबाट पहिरो खस्ने क्रम जारी छ । गाउँमुनि कर्णाली नदीले जमिन कटान गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

केही घरहरु पहिरोले पुरिन थालेपछि नजिकैको लुम्सबगरमा बस्न थालेको स्थानीय नन्दबहादुर नेपालीले बताए । उनका अनुसार नजिकैको भटडाडीगाउँमा पनि पहिरोको त्रास छ । गाउँमुनिबाट पहिरो खस्‍न थालेपछि कम्फाका ४२ परिवार पनि त्रासै त्रासमा घरमा बस्न बाध्य भएको उनले जानकारी दिए ।

खत्याड गाउँपालिका–७ र ८ स्थित रिघागाउँ पहिरोको उच्च जोखिममा परेपछि ठूलो वर्षा हुँदा स्थानीयबासी पिपलचौतारामा जम्मा भएर बस्ने गरेका छन् । २ वर्षअघि गाउँमाथिबाट खसेको पहिरोले १४ घर पुरेको थियो । ‘फेरि ठूलो पहिरो आएर गाउँ नै पुर्ने हो कि भन्‍ने चिन्ता छ,’ स्थानीय मनोज गिरीले भने, ‘पहिरोको डरले धेरै रात अनिदो बसियो ।’

ताल्चा विमानस्थलको ढल कालापाल्ता बस्तीमा पस्‍न थालेपछि एक दर्जन स्थानीयको जग्गा पहिरोले बगाएको छ । पहिरोको जोखिम बढ्दै गएपछि पानी परेको रात जाग्राम बस्ने गरेको स्थानीय प्रविण रावलले गुनासो गरे ।

बाढी–पहिरो जानसक्ने क्षेत्रमा पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला बताउँछन् । ‘प्रकोप भए ठूलो क्षति नहोस् भनेर उद्धार टोली तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरी पूर्वतयारीका लागि क्रियाशील बनाइएको छ ।’

प्रकाशित : श्रावण ३१, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?