आर्थिक संकटमा चौरजहारीकाे पीसीआर ल्याब - कर्णाली - कान्तिपुर समाचार

आर्थिक संकटमा चौरजहारीकाे पीसीआर ल्याब 

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–२ स्थित जिल्ला आर्युर्वेदिक कार्यालयमा स्थापना गरिएको पीसीआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि संकलन गरिएका स्वाब सुर्खेत पठाउन थालिएको छ । 


कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सदरमुकाम खलंगामा ३ दिनदेखि निषेधाज्ञा जारी गरिएको छ । तर संकलन गरिएका नमुना परीक्षणमा समस्या भएपछि मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका स्वाब सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो । चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख रुपैयाँको लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेसिन सञ्चालनमा ल्याएको थियो । जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ७१ लाख ६० हजार रुपैयाँ नगरपालिकाले लगानी गरेको छ ।

मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘संघ र प्रदेश सरकारले सहयोग नगरेपछि जिल्लाभित्रै आर्थिक स्रोत जुटाउने निर्णय भएको थियो,’ उनले भने, ‘निर्णय कार्यान्वयन नहुँदा ल्याब सञ्चालनमा समस्या देखियो ।’ केन्द्र सरकारले पीसीआर मेसिन सञ्चालनको लागि सहयोग नगरेको उनको गुनासो छ ।

चौरजहारीमा जडान गरिएको मेसिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका झण्डै २ हजार ३ सय स्वाब परीक्षण गरेको छ । दैनिक ३ लाख रुपैयाँ खर्च भइरहेकाले ल्याब आर्थिक समस्यामा परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । ‘यही अवस्था जारी रहे चौरजहारीबाहेक अन्यत्रको स्वाब परीक्षणमा मुस्किल हुन्छ,’ उनले भने, ‘सहयोगका लागि सबैतिर पहल गरिरहेका छौं ।’

जिल्ला विपद् व्यवस्थापन समितिले पीसीआर मेसिन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त ल्याबमा अरु स्थानीय तहले ल्याब टेक्निसियन तथा असिस्टेन्ट पठाउने भने पनि कसैले पठाएनन् भने केही स्थानीय तहका फिर्ता भइसकेका छन् । अहिले सानीभेरी र आठबीसकोट नगरपालिकाले पठाएका प्राविधिकले मात्रै ल्याबमा काम गरिरहेको प्रयोगशालाले जनाएको छ । मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाले पठाएका प्राविधिक फिर्ता भइसकेका छन् ।

चौरजहारीमा किट सकिएको थाहा पाएपछि २ स्थानीय तहको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । उनका अनुसार चौरजहारीमा किट अभाव हुन नदिन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको छ । ‘प्रयोगशालाको आर्थिक समस्या समाधानका लागि पहल भइरहेको छ,’ उनले भने, ‘जिल्लामै मेसिन भएपछि थप समस्या व्यहोर्नु नपर्ने गरी व्यवस्थापनका लागि छलफल चलाइरहेका छौं ।’

प्रकाशित : श्रावण ३०, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

अब बुटवलमा आधा घन्टामै कोरोना परीक्षण नतिजा

अमृता अनमोल

बुटवल — शंकास्पद व्यक्तिको घाँटी स्वाबबाट लिइएकाे नमुनाबाट आधा घण्टामा नतिजा आउनेगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि कोरोना भाइरस परिक्षणका लागि नयाँ मेसिन जडान गरिएको छ ।

मेसिनले कोरोना संक्रमण छ भने ४५ मिनट र छैन भने ३० मिनटमै नतिजा दिन सक्छ । मेसिनको प्रति घण्टा ४ वटा स्वावका नमुना परिक्षण गर्न सक्ने क्षमता छ । जटिल र आकस्मिक विरामी लक्षीत गरिएको यसको परिक्षण सेवा निशुल्क गरिएको छ ।

अस्पतालका मेसु डा. राजेन्द्र खनालले आकस्मिक रुपमा कोरोना पोजीटिभ छ छैन भनेर पत्ता लगाउन एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु मेसिन जडान गरिएको बताए । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी कोरोना परिक्षण सेवा शुरु गरिएको हो ।

‘सामान्य पीसीआर परीक्षणको नतिजा ढिला हुँदा उपचार समस्या भयो,’ उनले भने, ‘त्यसैले आकस्मिक रुपमा जाँच गर्न यस मसिनलाई प्रयोगमा ल्याइएको हो ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आˆनै स्वाव परिक्षण गरेर सेवा शुभारम्भ गरे । कोरोना भाइरसका जटिल बिरामी बढीरहेका बेला जाँचलाई छिटो छरितो बनाउन मेसिन उपयोगी हुने उनले बताए । अस्पतालले यसअघि सशुल्क कोरोना भाइरस परीक्षण गर्ने मेसिन राखेको थियो ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×