कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राउटे बस्तीमा खाद्यान्‍न अभाव

ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिका–८ धरमपोखरास्थित राउटे बस्तीमा खाद्यान्‍न अभाव देखिएको छ । खाद्यान्‍न अभाव भएपछि उनीहरु आसपासका गाउँमा मागेको अन्नले छाक टार्न बाध्य छन् ।

राउटे बस्तीमा खाद्यान्‍न अभाव

लकडाउन र कोरोना महामारीका कारण बस्तीमा खाद्यान्‍न अभाव चुलिएको हो । गाउँगाउँ डुलेर खाद्यान्न जुटाउनुपर्ने बाध्यता भएको राउटे मुखिया वीरबहादुर शाहीले बताए । उनका अनुसार ४ महिनादेखि बस्तीमा खाद्यान्न अभाव भए पनि २ सातायता अधिकांशले पुरै पेट खान पाएका छैनन् । ‘सरकारी अड्डामा पुगे लकडाउन छ भन्दै टार्छन,’ उनले भने, ‘जनताले खाद्यान्नका लागि रात–दिन घेर्न थाले, उनीहरुलाई २ छाक खुवाउनै समस्या भयो ।’

राउटे समुदायले उत्पादन गरेका बस्तुहरु बिक्री नहुँदा पनि खाद्यान्न खरिद गर्न समस्या भएको उनले बताए । ‘जनताले मासु चाहियो भन्छन्,’ उनले भने, ‘उनीहरुका लागि २ छाक जुटाउन त मुस्किल छ, कसरी मिठोमसिनो खुवाउने ?’ प्रहरीले जंगलमा जान कडाइ गरेपछि शिकार गर्न नपाएको उनको गुनासो छ ।

७ जनाको परिवारको खाद्यान्न जुटाउन दिनभर माग्दै हिँड्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए । ‘पहिले सहयोग गर्नेहरु पनि बस्ती छिर्न छाडे,’ उनले भने, ‘हामी त १/२ दिन भोक सहौंला, साना बच्चाबच्चीलाई खुवाउन पनि माग्दै हिँड्नुपर्ने बाध्यता छ ।’

बस्तीमा खाद्यान्नको समस्या त छ नै, राउटेहरु चुहिने त्रिपालमा बस्न बाध्य छन् । ‘बालबच्चा बिरामी पर्न थाले,’ महामुखिया मैनबहादुर शाही भन्छन्, ‘त्रिपाल चुहिन थालेपछि राति पानी परे जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ सबै परिवारका लागि त्रिपाल सहयोग गरे पनि आफूहरुलाई धेरै राहत हुने उनको भनाइ छ । सहयोग गर्नेहरु आउन छोडेपछि लामो समयदेखि एकसरो कपडाको भरमा गुजारा चलाइरहेको उनले गुनासो गरे ।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय गत फागुनयता गुराँस गाउँपालिकामा बसिरहेका छन् । लकडाउनका कारण राउटे समुदायमा विभिन्न समस्या देखिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ‘लामो समयदेखि खाद्यान्न, लत्ताकपडा र अन्य सहयोग नपाउँदा उनीहरुको जीवन कष्टकर बनेको छ,’ उनले भने, ‘उत्पादन गरेका बस्तु बिक्री नहुँदा आर्थिक समस्या भोगिरहेका छन् ।’

बस्तीमा खाद्यान्न समस्या देखिएपछि स्याफ्रन नेपाल सुर्खेतका प्रमुख शैलेन्द्र विष्टको संयोजनमा उषा थापा, जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिचका सञ्चालक म्यागी शाहलगायतले ७५ हजार रुपैयाँको खाद्यान्न सहयोग गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?