अदालत पुग्यो केन्द्र विवाद



वीरेन्द्रनगर — चिंगाड गाउँपालिकाको स्थायी केन्द्र अवलचिङ हुनुपर्ने माग गर्दै स्थानीयले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका छन् । गाउँपालिका स्थापना भएदेखि नै कायम रहेको प्रशासनिक केन्द्र अलवचिङ नभइ पुङ्खेत सार्ने निर्णय कार्यपालिका बैठकले गरेपछि स्थानीयले विरोध जनाउँदै रिट दायर गरेका हुन् ।

गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोध गर्दै ५ नम्बर वडाका लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले सोमबार रिट दायर गरेका हुन् । उक्त मुद्दामाथि अदालतले दुवै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने/नगर्ने विषयमा दुवै पक्षसँग छलफल गरी निर्णय गर्नुपर्ने जनाएको हो ।
कार्यपालिका बैठकले केन्द्र तोकेको गाउँपालिकाको केन्द्र पुङ्खेत ।
यसअघि २०७५ माघ ७ गतेको गाउँसभाबाट केन्द्र सार्ने निर्णय गरिएपछि स्थानीयले विरोध जनाएका थिए । कार्यपालिकाको गत असार ९ गते बसेको बैठकले पुन: अवलचिङबाट पुङ्खेतमा केन्द्र सार्ने निर्णयलाई अनुमोदन गर्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको थाहा पाएपछि स्थानीय अदालत पुगेका हुन् । उनीहरुले खोला किनारमा केन्द्र सार्न खोजिएको भन्दै सबैलाई पायक पर्ने अवलचिङमा नै केन्द्र तोक्नुपर्ने माग गर्दै आएका छन् । भूगोल तथा पहुँचका हिसाबले पनि अवलचिङ नै उचित रहेको भन्दै स्थानीयले प्रदेश सरकारले पनि आवश्यक सहजीकरण गरी नयाँ निर्णय लिन सहयोग गर्ने आशा लिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रकाशित : श्रावण २९, २०७७ १५:२८