लुकाइएको सुनका गहनासहित एक जना पक्राउ

प्रहरी भन्छ– सुन नजोखीकनै सिलबन्दी गरेर राखिएकाले कति छ भन्ने यकिन भएन ।
कलेन्द्र सेजुवाल

सुर्खेत — सुर्खेत प्रहरीले सुनका गहनासहित एक जनालाई पक्राउ गरेको छ । बुधबार राति करिब ९ बजे वीरेन्द्रनगर–३ स्थित मनबहादुर सुनारको घरबाट गहना बरामद गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार सुनका २ वटा कडा, १६ वटा चुरा, ५ वटा झुम्का, ३ वटा काँटा र ४ वटा श्रीफूल बरामद गरिएको छ । थप सुनसमेत लुकाइएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । करिब ४ दिनअघि सुन ल्याइएको बारे प्रहरीलाई सूचना आएपछि डीएसपी रामप्रसाद घर्तीको कमान्डमा टोली परिचालन गरिएको उनको भनाइ छ । ‘यो सुन सुर्खेत बाहिरबाट चोरी गरेर ल्याइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘पक्राउ गरिएको व्यक्तिले सबै कुरा नभनेकाले पनि यथार्थ खुल्न सकेको छैन ।’

सुन बरामद गर्न गएका डीएसपी घर्तीका अनुसार घरको हात धुने धाराको खाली स्पेसमा सुन लुकाइराखिएको अवस्थामा भेटिएको थियो । सुनारका भतिजालाई समेत पक्राउ गरी ल्याइएको उनले बताए । सुन नजोखेरै सिलबन्दी गरेर राखिएकोले कति छ भन्ने यकिन नभएको उनको भनाइ छ ।

घर्तीका अनुसार पक्राउ परेका व्यक्तिले ‘सुन राख्न दिने व्यक्ति’ को नाम अहिलेसम्म बताएका छैनन् । उनले देखेपछि चिन्न सक्ने भनी बयान दिएका छन् । सुन बरामद घटनाबारे जानकार एक स्थानीय भने पक्राउ परेका व्यक्ति र अन्य तीन जनाले नै सुन ल्याएको बताउँछन् । ‘प्रहरीले अहिले पनि ती व्यक्तिलाई सामान्य मतियारजस्तो व्यवहार गरी छाडेर घटनालाई मत्थर गर्ने प्रयास गरिरहेको छ,’ ती व्यक्तिले भने, ‘सुन कति परिमाणमा बरामद भयो भन्नेबारे स्पष्ट जवाफ नदिनुले पनि शंका उब्जाएको छ ।


प्रकाशित : श्रावण २९, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?