त्रिवेणी गाउँपालिकाका लेखापालसहित २ जनामाथि आक्रमण



रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी र उनका भतिजा सुवास केसी सांघातिक आक्रमण परेका छन् । सदरमुकाम खलंगास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट घर फर्किने क्रममा उनीहरुमाथि कुटपिट भएको हो ।

त्रिवेणी गाउँपालिका–४, लामाखेतमा बसिरहेका भीमबहादुर पुन, निराजन पुन र खगेन्द्र महरलगायत ५ जनाले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु रा–१ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै थिए । लेखापाल केसीले कुटपिट गर्नेहरुविरुद्ध प्रहरी चौकी, सिम्रुतुमा उजुरी दिएका छन् । चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष शाहले उजुरी आएपछि घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।
सुवास त्रिवेणी गाउँपालिकाको लेखा सहयोगीबाट बर्खास्तीमा परेका व्यक्ति हुन् । लेखापाल केसीले आफूसहित सुवास र पत्नी विर्माको खातामा सरकारी रकम जम्मा गरेका थिए ।
३ जनाको खातामा जम्मा गरिएको २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ गाउँपालिकाकै खातामा फिर्ता आइसकेको छ भने घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको छ ।
यो पनि पढ्नुहोस्ः
लेखापाल, श्रीमती र भतिजाको खातामा जम्मा भएको सरकारी रकम फिर्ता
प्रकाशित : श्रावण २८, २०७७ १६:४७