कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सरकारी रकम दुरुपयोग प्रकरण : प्रशासनद्वारा छानबिनलाई तीव्रता 

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाले सरकारी रकम व्यक्तिको नाममा गएकोबारे जिल्ला प्रशासन कार्यालयले छानबिन तीव्र बनाएको छ । गाउँपालिकाका लेखापाल हेमन्त केसीले विभिन्न शीर्षकको झण्डै २५ लाख सरकारी रकम आफू र आफ्ना आफन्तको खातामा जम्मा गरेको पाइएको थियो । 

सरकारी रकम दुरुपयोग प्रकरण : प्रशासनद्वारा छानबिनलाई तीव्रता 

कार्यपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले घटनाका विषयमा ३ बुँदे धारणा सार्वजनिक गर्दै छानबिनलाई तीव्रता दिएको बताए । विज्ञप्तिमा कार्यपालिकाले बजेट खर्च र कार्यान्वयनबारे गरेको समीक्षात्मक अध्ययनबाट लेखापाल केसीले गरेको आर्थिक अनियमितता सार्वजनिक भएको उल्लेख छ ।

आर्थिक अनियमितता र पदीय दुरुपयोगको झल्काउने यस प्रकारका तथ्यहरुबारे विस्तृत छानबिन एवं कारबाही गर्न कार्यपालिकालाई कानुनी अधिकार नभएकाले अधिकार प्राप्त निकायलाई खबर गरिएको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले कागजात जफत गरेर छानबिन गरिरहेको छ ।

अनियमिततामा मुछिएको देखिएपछि लेखा सहयोगी लेखापाल केसीका भतिजा सुवासलाई जागिरबाट हटाइएको छ । लेखापाल केसीले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ आफू, पत्नी विर्मा र लेखा सहयोगीसमेत रहेका भतिजा सुवासको खातामा जम्मा गरेका थिए । जनप्रतिनिधिले यो कुरा थाहा पाएपछि उक्त रकम गाउँपालिकाकै खातामा फिर्ता भइसकेको छ ।

लेखापाल केसीले आफ्नो खातामा ८ लाख ५९ हजार, विर्माको खातामा ६ लाख र सुवासको खातामा १० लाख ३२ हजार सरकारी रकम जम्मा गराएका थिए । विर्मा गाउँपालिकाकै ५ नम्बर वडा सदस्यसमेत हुन् ।

उक्त रकम गाउँपालिकाको खातामा फिर्ता गरेपछि फाइल मिलाउने क्रममा लेखापाल केसीसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई १ रात हिरासतमा राखेर छाडिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । छानबिन चलिरहेकाले अहिले नै केही भन्न नसकिने भन्दै उनले घटनामा दोषी देखिने सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने जनाए ।

प्रकाशित : श्रावण २७, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?