कोरोना कहरमा राजनीतिक भेला- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कहरमा राजनीतिक भेला

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकामा नेपाली कांग्रेसले साउन १४ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्‍यो । सक्रिय सदस्यता वितरण, नविकरण र तरुण दल गठनका लागि आयोजना गरिएको भेलामा अरु पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो ।

त्यसको झण्डै १ सातापछि शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सल्लीबजारमै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र संघीय सांसद टेकबहादुर बस्नेतको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम राख्यो ।

कोरोना संक्रमणको त्रास कायमै रहेको बेला राजनीतिक दलहरुले कार्यकर्ता भेटघाट, छलफल, बैठक, प्रशिक्षणलगायत राजनीतिक कार्यक्रम जारी राखेका छन् । सामान्य सावधानीसमेत नअपनाई पार्टीका कार्यक्रमलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । बन्गाडकुपिण्डेको केन्द्र सल्लीबजारमा कांग्रेस र नेकपाले आयोजना गरेका दुवै भेलामा २ सय जनाभन्दा बढी कार्यकर्ताको उपस्थिति थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँ केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । गत शनिबार पार्टीका केन्द्रीय सदस्य अनुवमसिं श्रेष्ठसहितका नेता–कार्यकर्ताको उपस्थितिमा राप्रपाले कपुरकोटमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्‍यो । राजनीतिक दलले जभाभाबी कार्यक्रम गर्दा कोरोनाको त्रास झन बढिरहेको शारदा नगरपालिकाका रेशमबहादुर वोहराले बताए । ‘पार्टीका कार्यक्रममा सहभागी हुनेले न सावुन–पानीले हात धुन्छन्, न सेनेटाइजरको व्यवस्था नै गरिएको हुन्छ,’ उनले भने, ‘कतिपय कार्यकर्ता मास्क नलगाएरै भेलामा सहभागी हुँदा जोखिम बढ्दै गएको छ ।’ सचेतना फैलाउनुपर्ने व्यक्तिहरु नै जथाभावी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको उनको भनाइ छ ।

पार्टीहरुले भेला र कार्यकर्ता भेटघाटका नाममा जथाभाबी हुल–हुज्जत बढाइरहेको बन्गाडकुपिण्डे नगरपालिकाका रेमन्तबहादुर खड्काले बताए । ‘दलका कार्यक्रममा सामाजिक दूरीको समेत ख्याल गरिँदैन,’ उनले भने, ‘समुदायमा संक्रमण फैलिए स्थिति भयाभह हुने देखिन्छ ।’

सरकारले सामुहिक भेला तथा जमघट सञ्चालन नगर्न आग्रह गरे पनि राजनीतिक दलहरुले बेवास्ता गरिरहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । ‘सानो असावधानीले पनि भविश्यमा ठूलो दुर्घटना निम्तिन सक्छ,’ उनले भने, ‘बरु दलहरुले कार्यकर्ता परिचालन गरी कोरोनाबिरुद्ध सचेतना फैलाउन जरुरी छ ।’

कोरोनाको जोखिम कायमै रहेकाले जमघट र राजनीतिक भेलाको आयोजना नगर्न विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना जारी गरिरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल बताउँछन् । उनका अनुसार सल्यानमा अहिलेसम्म २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ सय ५० जना उपचारपछि घर फर्किएका छन् । ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

जलमग्न धनगढी उप–महानगर [तस्बिरहरु]

जिल्लाको पूर्वाेत्तर क्षेत्रमा पुन: डुबानको सम्भावना 
मोहन बुढाऐर

धनगढी — आइतबारदेखिको अविरल वर्षाले धनगढी उप–महानगर जलमग्न भएको छ । जिल्लाको पूर्वाेत्तर क्षेत्रका स्थानीय नदीमा पानीको सतह बढेर पुन: डुबानको जोखिममा परेका छन् । 


धनगढी उप–महानगरको वडा नम्बर–४ को बसपार्क, उत्तरबेहडी वडा–३ को विशालनगर, चटकपुर, मिलनचोक, वडा नम्बर–७ को मनोहरा, मोतिचोक वडा नम्बर–१२ को मुक्तकमैया बस्ती र वडा–५ को हसनपुर, शिवनगर लगायतका क्षेत्रका सयौंको घरभित्र पानी पसेको छ । मुक्त कमैया बस्तीमा घरभित्र पसेको पानीले खाद्यान्न तथा लत्ता कपडा भिजाएको बताएका छन् । दोस्रो तल्ला नभएका केही परिवार आफन्तको घरमासमेत सर्न बाध्य भएका छन् ।

धनगढीको सहरी क्षेत्रका खोलानालाको अतिक्रमण र ढलको राम्रो व्यवस्था गर्न नसक्दा धनगढी उप–महानगरपालिका जलमग्न हुने गरेको छ । निरन्तर वर्षाले कैलालीको पूर्वाेत्तर क्षेत्रका स्थानीय तहमा पानीको बहाव बढेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

कैलालीको भजनी, जोशीपुर, जानकीनगर टिकापुरलगायत जिल्लाको पूर्वाेत्तर क्षेत्रका ६ घर यसअघि साउन १५ गते आएको बाढीले डुबानमा परेका थिए । उनीहरु बाढीबाट जोगिन हुलाकी सडकमा आएका थिए । करिब एक सातापछि उनीहरु घर फर्कन सुुरु गरेका थिए । भजनीका २ सय ५० परिवार अझै पनि घर फर्कन सकेका छैनन् ।

‘फेरि परेको वर्षाले बाढी आउने डरले त्रसित छौं,’ स्थानीय गंगा चौधरीले भने,‘ नदी किनाराका बस्तीका परिवार सुरक्षित स्थानतर्फ सर्न लागेका छन् ।’ उनले चुरेमा परेको पानीले स्थानीय नदीमा ठूलो बाढी आउने भएकाले जुनसुकै बेला पनि बाढी लाग्न सक्ने बताए । उनका अनुसार कैलालीको पूर्वी क्षेत्रमा स्थानीय मोहना, कान्ध्रा, काडा र पथरिया नदीमा आउने बाढीले बस्ती डुबानमा पर्ने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको अत्तरिया कैलालीको कार्यालयले सोमबार बिहानसम्ममा ५४.३ मिलिमिटर वर्षा भएको जनाएको छ । यसअघि साउन १५ मा सबैभन्दा बढी १९८.३ मिलिमिटर वर्षा भएको थियो । कैलालीको पूर्वाेत्तर क्षेत्रका ६ हजार घर डुबानमा परेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थानीय तहमा पानीको बहाव बढेकाले असर पार्ने क्षेत्रका बासिन्दा र स्थानीय तहका प्रमुखहरुलाई सर्तक रहन खबर पठाएको बताए । ‘कुनै ठाउँमा आपतकालिन उद्धारको आवश्यकता परे तुरुन्त खबर गर्न समेत भनेका छौं,’ उनले भने, ‘उद्धार र राहातका लागि पूर्व तयारी गरेका छौं ।’

प्रकाशित : श्रावण २६, २०७७ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×