१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पहिरोले १५ करोडको क्षति

तुलाराम पाण्डे

कालीकोट — अविरल वर्षापछि जिल्लाका ९ वटै स्थानीय तहमा गएको पहिरोले करिब १५ करोड रुपैयाँको क्षति पुर्‍याएको छ । कालीकोटमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।

पहिरोले १५ करोडको क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरोमा ९ जना घाइते भए भने ३ सय ५८ घर पूर्णरुपमा भत्किएका छन् । ५ सय ९५ परिवारका २ हजार ५ सय ७८ जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा मात्रै १२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

पहिरोले पुर्‍याएको क्षतिको मुचुल्का उठाएर जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । ‘वर्षा नरोकिएकोले क्षतिको विवरण बढिरहेको छ,’ उनले भने, ‘पूर्वतयारीको लागि जिल्लाभरि प्रहरी परिचालन गरेका छौं ।’ पहिरोले सबैभन्दा बढी नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा क्षति पुगेको उनले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा १ सय १७ पशुचौपाया मरेका छन् भने ३ सय ५८ घर भत्किँदा ५ करोड ९४ लाख रुपैयाँको क्षति पुगेको छ । ८९ रोपनी जमिन पहिरोले बगाउँदा ७ करोड ७२ लाख रुपैयाँको क्षति पुगेको उनले जानकारी दिए ।

कालीकोटको नरहरिनाथ–७, बागामा साउन दोस्रो साता खसेको पहिरोले बगाएको घर र खेत । तस्बिर: तुलाराम/कान्तिपुर

पहिरोले एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको र ६ जना अझै बेपत्ता भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार बेपत्ता भेटिने अवस्था नभएकाले मृतकसरह मानेर आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउने तयारी भइरहेको छ । वर्षाले नरहरिनाथ–४, गोठी, अदेला, खातीरुप्सा र ५ नम्बर वडाको खलापाटा, भाटगाउँलगायत बस्ती जोखिममा छन् ।

अव्यवस्थित सडक निर्माणले पहिरो बढिरहेको स्थानीय कमल पाण्डेले बताए । ‘पहिरोले कतिखेर पेलेर बगाउँछ भन्ने चिन्ता सबैतिर छ,’ उनले भने, ‘अधिकांश गाउँका खेतबारी भुकम्पले चिरा पारेकोजस्तो गरी क्षतविक्षत भएका छन् ।’ केही गैह्रसरकारी संस्थाले राहत दिए पनि विस्थापितलाई छाक टार्नै समस्या भएको उनले गुनासो गरे । उनका अनुसार अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन । विद्युत्, खानेपानी र सिँचाइ कुला पहिरोकै कारण अवरुद्ध बनेको उनको भनाइ छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकप्टर चढेर २ पटक गाउँ पुगे पनि पीडितले अझै राहत पाउन सकेका छैनन् । पहिरो पीडितलाई सरकारले दिने भनेको नगद राहत अझै नपाएको नरहरिनाथ–७ बांगाका कुलबहादुर सहकारीले बताए । पहिरोमा परि उनका ससुरा गंग बुढाले ज्यान गुमाएका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?