कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाक्टर केसीद्वारा मुगुमा दुई जनाको नि:शुल्क शल्यक्रिया, ८४ जनाको स्वास्थ्य परीक्षण

राजबहादुर शाही

मुगु — छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डाक्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अस्पताल ठिनीमा निःशुल्क देब्रे हातको अप्रेसन गरेका छन् ।

डाक्टर केसीद्वारा मुगुमा दुई जनाको नि:शुल्क शल्यक्रिया, ८४ जनाको स्वास्थ्य परीक्षण

तीन वर्षअघि रेश्मा गाई चराउन वनतिर जाँदा भीरबाट लडेर हात भाँच्चिएको थियो । आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य भएकी थिइन् ।

‘यत्रो वर्षसम्म छोरीको हात सञ्चो भएन । तराई लिएर औषधि गर्ने क्षमता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भामले भनिन्, ‘कताबाट भगवानजस्तै डाक्टर केसी भेटिए । निःशुल्क छोरीको हात अप्रेसन गरी दिए । अब मेरो छोरीको हात राम्रो हुने भयो नदुख्ने भयो ।’

नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसी अप्रेसन गरेका छन् । एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको यताउती हिँडडुल गर्न गाह्रो अवस्था थियो । डाक्टर केसी आएको थाहा पाएपछि उनी अस्पतालमा आएर चेक गराएपछि केसीले अप्रेसन गरेर खुट्टा सन्चो बनाएपछि भाम पनि खुसी भएका छन् ।

‘डाक्टरले मेरो तिघ्राको अप्रेसन गरेर सधैंको लागि सन्चो बनाइदिए,’ भामले भने, ‘एक वर्षदेखि घाउले मलाई सारै दुःख दिएको थियो अब निको हुने भयो ।’

जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको अप्रेसन गरिदिएका छन् ।

जिल्ला अस्पतालमा डाक्टर केसी आएको जानकारी पाएपछि जाँच गराउन महिला पुरुष बालबालिकाको चाप बढेको छ ।

डाक्टर केसी अस्पतालमा पुगेर बिरामीको जाँच र शल्यक्रिया सेवा दिन थालेपछि अस्पतालमा कार्यरत चिकित्सक सहित स्वास्थ्यकर्मी उत्साहित भएका छन् । चिकित्सक नर्सहरुले केसीसँग सल्लाह सुझाव लिन पाएका छन् ।

शनिबार डाक्टर केसीले अस्पतालमा कार्यरत चिकित्सक स्टाफ नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई हड्डीको रोग विषयमा प्रशिक्षण दिने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए ।

आइतबार मध्याहृनसम्म फेरि बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सोमबार डाक्टर केसी मुगुबाट फर्किने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?