कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दैलेखमा घटे संक्रमित

समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई तीव्रता, रित्तिए क्‍वारेन्टाइन र आइसोलेसन
ज्योति कटुवाल

दैलेख — कर्णालीमा कोरोना संक्रमणको ‘रेड जोन’ बनेको दैलेखमा संक्रमितको संख्या घटेको छ । समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउँदै परीक्षणलाई तीव्रता दिएपछि दैलेख ‘ग्रिन जोन’ बन्दै गएको हो ।

दैलेखमा घटे संक्रमित

संक्रमितहरू निको भएर घर फर्किएपछि जिल्लाका ११ मध्ये १० पालिका कोरोनामुक्त भएका छन् । २ महिनाअघिसम्म संक्रमितहरू धान्न नसकेको नारायण र दुल्लु नगरपालिकाका आइसोलेसन र क्‍वारेन्टाइन पनि खाली भएका छन् । सुरुमा भारतबाट आउनेहरू ह्वात्तै बढेपछि संक्रमणले ठूलो रूप लिएको नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए । ‘थोरै संख्यामा बनेका क्‍वारेन्टाइनमा कोचाकोच गरेर राख्दा पनि संक्रमण बढ्यो,’ उनले भने, ‘ठूलो मिहिनेतपछि आइसोलेसन खाली बन्दै गएका छन् ।’ जिल्लामै पीसीआर मेसिन र आवश्यक स्वास्थ्य उपकरण आएपछि संक्रमित घटेको उनको भनाइ छ ।

अहिले नारायण नगरपालिकाका १ हजार ४ सय ४७ र दुल्लुका १ हजार ३ सय २३ क्‍वारेन्टाइन बेडहरू खाली भएका छन् । जिल्लाभरि ९ हजार २ सय १३ बेडको क्‍वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले क्‍वारेन्टाइनमा र आइसोलेसनमा २६/२६ जना मात्र छन् । जिल्लाभरि ९ सय ३२ जनामा कोरोना देखिएकामा ९ सय ५ जना डिस्चार्ज भइसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए ।

उनका अनुसार संक्रमित धेरै देखिएका नारायण, दुल्लु, महाबु, नौमुले र डुंगेश्वर अहिले कोरोनामुक्त बनिसकेका छन् । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले स्थानीयको लापरबाहीका कारण दैलेख कोरोनाको ‘रेड जोन’ बनेको दाबी गरे । ‘केही कमजोरी हाम्रा पनि भए, ठूलो संख्यामा स्थानीयहरू भारतबाट फर्किएपछि सुरुमा व्यवस्थापनमा समस्या भयो,’ उनले भने, ‘सुर्खेतबाट ढिलो गरी पीसीआर रिपोर्ट आउँदा पनि संक्रमण भयावह भएको हो ।’ उनका अनुसार अहिले समुदायस्तरमा स्वाब संकलनलाई तीव्रता दिइएको छ ।

दोस्रो चरणको पूर्वतयारी तीव्र

दोस्रो चरणमा फेरि संक्रमण फैलिने भन्दै यहाँका स्थानीय तहले पूर्वतयारीलाई तीव्र बनाएका छन् । नारायण नगरपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएको छ भने दुल्लु नगरपालिका र महाबु गाउँपालिकाले २०/२० शय्याको उपचार केन्द्र स्थापना गरेका छन् । जिल्लालाई कोरोनामुक्त बनाउन एकीकृत अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘जिल्लामै पीसीआर मेसिन जडान भएपछि परीक्षण र स्वाब संकलनको दायरा बढाएका छौं,’ उनले भने, ‘समुदायस्तरमा शंकास्पद सबैको नमुना संकलन भइरहेको छ ।’ उनका अनुसार पछिल्लो चरणमा गरिएका अधिकांश स्वाबको रिपोर्ट नेगेटिभ आउन थालेको छ ।

कोरेनामुक्त बनाउन महाबु गाउँपालिकाले प्रत्येक वडामा कोरोना न्यूनीकरण समिति गठन गरी परिचालन गरेको छ । स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिलाई समावेश गरी समिति क्रियाशील बनाइएको हो । केही जनप्रतिनिधिहरूलाई समितिले गरेका कामको अनुगमन गर्न खटाइएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार १ सय ८५ जना संक्रमित भएको गाउँपालिकामा अहिले २६ जना मात्र आइसोलेसनमा छन् । गाउँपालिकाले सबै संक्रमितलाई शनिबार डिस्चार्ज गर्ने तयारी थालेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले मास्क नलगाएर हिँडडुल गर्नेलाई धमाधम जरिवाना गर्न थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली व्यापारिक केन्द्रमा परिचालन गरी जरिवाना असुल गर्न थालिएको हो । सदरमुकाममा २४ सैं घण्टा प्रहरी परिचालन गरी निगरानी थालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए । ‘मास्क नलगाउनेलाई प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना गर्न थालिएको छ,’ उनले भने, ‘सदरमुकाममा मात्रै दैनिक २ सय जनासम्म जरिवानामा पर्न थालेका छन् ।’

प्रकाशित : श्रावण २३, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?