जनप्रतिनिधिद्वारा गाउँसभा बहिष्कार, कर्मचारी आन्दोलनमा 

कान्तिपुर संवाददाता

सल्यान — करारमा भर्ना गरिएका कर्मचारी हटाउन माग गर्दै छत्रेश्वरी गाउँपालिकाका जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । नेकपा निकट जनप्रतिनिधिले बहिष्कार गरेपछि डेढ महिना बित्दासमेत बजेट पारित भएको छैन । 

जनप्रतिनिधिद्वारा गाउँसभा बहिष्कार, कर्मचारी आन्दोलनमा 

नेकपाबाट निर्वाचित जनप्रतिनिधिले करारमा भर्ना गरेका कर्मचारी हटाउन र अनियमितता रोक्न माग गर्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीको ध्यानाकर्षण गराएका थिए । आफूहरुको माग बेवास्ता गरेपछि गाउँसभा बहिष्कार गरेको ५ नम्बर वडाध्यक्ष लिलाधर घर्तीले बताए । करारमा भर्ना गरेका कर्मचारी नहटाउँदासम्म बजेट पारित हुन नदिने उनको भनाइ छ ।

गाउँपालिकाले असार १० गते गाउँसभामार्फत ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेको थियो । आफूहरुलाई हटाउन थालेको भन्दै कर्मचारी पनि आन्दोलनमा उत्रिएपछि गाउँपालिकाको कामकाजसमेत प्रभावित बनेको छ । आफूहरुको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलन थालेको स्वास्थ्यकर्मी दिलिप बोहराले बताए ।

गाउँपालिका अध्यक्ष केसीले नेकपाबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक बखेडा झिकेको बताए । ‘सेवाप्रवाहमा समस्या भएपछि कार्यविधिअनुसार प्रतिस्पर्धा गराएर कर्मचारी भर्ना गरिएको हो,’ उनले भने, ‘रिक्त स्थानमा स्थायी कर्मचारी नआउँदासम्म करारका कर्मचारीको म्याद थपिन्छ ।’ उनले कामकाज र पठनपाठन असहज भएपछि शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी गरी करिब १ सय जना कर्मचारी करारमा नियुक्त गरिएको जानकारी दिए । बजेट पारित नहुँदा विभिन्न सेवाप्रवाह र विकास निर्माणका कामकाज प्रभावित भएको उनको गुनासो छ ।

प्रकाशित : श्रावण २३, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?