१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँपालिकाको रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

हरि गौतम

रुकुम पश्चिम — सरकारी रकम व्यक्तिगत खातामा जम्मा गरेर कारबाहीबाट बच्न राति कार्यालयमा गई कागजात मिलाउँदै गरेका त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसी छन् । 

उनीहरूलाई प्रहरीले बिहीबार राति ९ बजे कार्यालयबाटै नियन्त्रणमा लिएको हो । बाहिरबाट ताला लगाई भित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चारै जनालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए । विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि कार्यपालिकाले चासो व्यक्त गरेको थियो । यस विषयमा इकान्तिपुरमा समाचार प्रकाशन भएपछि उनीहरूले रकम गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । यस विषयमा जिल्ला प्रशासनले कार्यालयले छानबिनसमेत थालेको थियो ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले कार्यालय समय १० देखि ५ बजेसम्म भए पनि उनीहरू राति कार्यालय जानुको कारण खोजी भइरहेको बताए । अहिले उनीहरूलाई जिल्ला प्रहरीमा राखिएको र दिउँसो थप अनुसन्धान गरिने उनले पौड्यालले जानकारी दिए ।

प्रकाशित : श्रावण २३, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?