१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लेखापाल, श्रीमती र भतिजाको खातामा जम्मा भएको सरकारी रकम फिर्ता

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भएको छ । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको हो ।

लेखापाल, श्रीमती र भतिजाको खातामा जम्मा भएको सरकारी रकम फिर्ता

यसअघि २ दिन ३ पटक र बुधबार गरी उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको हो । साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र सोही दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा लेखापाल केसीले विभिन्न शीर्षकको सरकारी रकम आफू, श्रीमती र त्रिवेणीमै लेखा सहयोगीको काम गर्ने भतिजा सुवासको नाममा जम्मा गरेको खुलेको थियो । विभिन्न शीर्षक र तीन जनाको खातामा जम्मा गरेको पाइएपछि कार्यपालिकाले त्यसको अनुसन्धान समेत थालेको थियो । कार्यपालिकाले अनुसन्धान गर्ने भन्ने निर्णय गरेपछि उक्त रकम गाउँपालिकाको खातामा जम्मा गर्न सुरु भएको बताइएको छ ।

सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको विषयमा प्रशासनले समेत छानविन थालेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको ३ सदस्यीय टोलीले गाउँपालिकामै पुगेर आगजात अध्ययन तथा स्टेटमेन्ट अध्ययन थालेको हो ।

मंगलबार इकान्तिपुरमा यो सम्बन्धिको समाचार प्रकाशन भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । एक जना अधिकृत, एक जना मुद्दा फाँटवाला र एक जना लेखापाल गरी ३ सदस्यीय छानबिन समिति बनाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनले अख्तियारको दुरुपयोग भएको पाइए कानून बमोजिम सजाय हुने पनि बताएका छन् ।

प्रकाशित : श्रावण २१, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?