कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्वयंसेवा गर्न डोल्पा पुगेका डा. केसीलाई गाउँपालिकाको अवरोध

हरि गौतम

रुकुम पश्चिम — हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी दुई दिन पैदल हिँडेर साउन १३ गते डोल्पा पुगे । जुम्ला सदरमुकाम खलंगाबाट पैदल हिँडेर उनी जगदुल्ला गाउँपालिका–६, रिमी पुग्नुको उद्देश्य थियो त्यहाँका बिरामीको निःशुल्क उपचार गर्नु । तर, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अवरोध गर्दा उनी निराश भएर फर्केका छन् ।

स्वयंसेवा गर्न डोल्पा पुगेका डा. केसीलाई गाउँपालिकाको अवरोध

डा. केसीले जगदुल्ला गाउँपालिका–६ मा रहेको रिम स्वास्थ्यचौकी शिविरस्थल छनौट गरेका थिए । त्यहाँ पुगेपछि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उपचारका लागि शिविर हुने भएकाले गाउँलेलाई खबर गरिदिन अनुरोध गरे । डा. केसी आएको थाहा पाएपछि केही गाउँले स्वत:स्फूर्त स्वास्थ्यचौकीसम्म पुगेका थिए । स्वास्थ्यचौकीले भने जानकारी गराइदिएन । गाउँपालिकासँग समन्वय नगरेको विषयलाई मुद्दा बनाइयो । गाउँपालिकासित समन्वय नगरेको तथा गाउँपालिकालाई जानकारी नगराइएको भन्दै गाउँपालिका अध्यक्ष नारासिंह रोकायको निर्देशनमा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खबर गरिदिएनन् । १३ गते बेलुका रिमी पुगेका डा. केसीले १४ गते केही बिरामी जाँच गरे । वातावरण सहज नभएपछि उनी १५ गते बिहानै जुम्ला फर्किए ।

दुई दशकसम्म देशका विभिन्न कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिनेक्रममा आफूले पहिलोपटक नमिठो अनुभूति गर्नुपरेको डा.केसीको भनाइ छ । आफ्नै कारण स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले धम्की सहनु परेको केसीले बताए ।

लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो व्यवहारको अपेक्षा आफूले नगरेको उनले बताए । रिमी स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्य सेवा प्रदान गर्नबाट रोक्ने गरी गाउँपालिका अध्यक्षले उक्त स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई धम्की दिएको डा. केसीको आरोप छ । ‘म कुनै राजनीतिक कार्यक्रम गर्न गएको होइन, न त सरकारको विरोध गर्न गएको हुँ,’ उनले भनेका छन्, ‘मेरो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्नु थियो, तर समन्वय नगरिएको विषयलाई ठूलो इस्यू बनाइनु पीडादायी क्षण भएको छ ।’

स्वास्थ्य शिविर गर्ने कुराबाट पछाडि नहटेपछि ६ नम्बर वडाका अध्यक्ष भक्तबहादुर बुढाथोकी आएर पनि आफूलाई रोक्ने प्रयास गरेको डा. केसीले बताए । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष समेतले स्थानीय स्वास्थ्यकर्मीलाई धम्की दिएपछि आफू १५ गते बिहानै रिमी छाडेर हिँडेको डा.केसीले बताए ।

स्वास्थ्यचौकी रिमी, वडा कार्यालय तथा गाउँपालिकाले डा. केसीले समन्वय र जानकारीबिनै शिविर गर्छु भनेपछि यस्तो अवस्था आएको स्वीकारेका छन् । स्वास्थ्यचौकी रिमीका इन्चार्ज ऐनबहादुर बोहोराले डा .केसीले गाउँपालिकामा कुनै जानकारी नगराएकाले भनेअनुसार सर्वसाधारण बोलाउन नसकिएको बताए । उक्त समयमा आफू फिल्डमा रहेको भन्दै बोहोराले शिविरका लागि आवश्यक तयारीसमेत हुन नपाएको बताए । वडाध्यक्ष बुढाथोकीले गाउँपालिकासित समन्वय नगरेको, बिनाजानकारी शिविर सञ्चालनको तयारी गरेपछि प्रक्रिया पूरा गरेर मात्रै शिविर गर्न भनेपछि डा. केसी फर्केर गएको बताए । अरु कुनै कारण नभई समन्वय नपुगेपछि डा. केसीले असजिलो मानेर जानु भएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रोकायले सबैले स्थानीय सरकारको नियम, प्रक्रिया र पद्धति मान्नुपर्ने बताए । उनले गाउँपालिकासित कुनै समन्वय नगरेको, जानकारी नगराएको जिल्ला अस्पतालबाट पनि अनुमति लिएको तथा अरु कुनै प्रक्रिया पूरा नगरेको पाइएपछि प्रक्रियाअनुसार आउन भनिएको बताए । कुनै पनि काम गर्न प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले यस विषयमा अरु कुनै कुरा नभएको बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?