१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा 

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको हो । 

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा 

केसीले आफ्नो नाममा ८ लाख र विर्माको नाममा फरकफरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको छ । उनले गाउँपालिकाको लेखा सहयोगीको रुपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका हुन् । घटनाबारे थाहा पाएपछि कार्यपालिकाले गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खड्का तथा केही वडाध्यक्षहरु रहेको छानबिन कार्यदल बनाएर अध्ययन थालेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकको २४ लाख ७७ हजार रुपैयॉ लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले पुष्टि गरे । उनका अनुसार त्यसमध्ये पत्नीको नाममा गएको ८ लाख ८६ हजार रुपैयाँ गाउँपालिकाको सञ्चित खातामा जम्मा गरिसकिएको छ । लेखापालको खाताको ८ लाख र भतिजा सुवासको खातामा जम्मा भएको ७ लाख ९१ हजार भने फिर्ता नभएको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए ।

भतिजाको खातामा पारिश्रमिक भनेर उक्त रकम पठाइएको पाइएको छ । सुवासको मासिक तलब २२ हजार रुपैयाँ मात्र हो । जेठ १ गतेदेखि लागू हुने गरी नियुक्ति दिन कार्यपालिकाले निर्णय गरे पनि उनले गत फागुनमा मात्र नियुक्ति पाएका थिए । उनलाई कार्यपालिकाले लेखा शाखामा सहयोग गर्न भनेर करारमा नियुक्ति दिइएको हो । उनको मासिक तलब १ लाख ५६ हजार रुपैयाँ मात्र हुने गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो । थप अनियमितता हुनसक्ने भन्दै आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को सबै कागजात अध्ययन भइरहेको छानबिन समितिमा संलग्न एक वडाध्यक्षले बताए । ‘कार्यदलले हरेक योजना र स्रेस्ताको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सरकारी रकम अरुको खातामा जम्मा गर्नुको कारण र यसमा क–कसको संलग्नता छ भन्नेबारे पनि खोजी गरिरहेका छौं ।’ गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले १/२ दिनमा विस्तृत विवरण आउने बताए । ‘म बैठक तथा अध्ययनमा व्यस्त छु,’ उनले भने, ‘यथार्थ विवरण १/२ दिनमा सार्वजनिक गर्छौं ।’

प्रकाशित : श्रावण २०, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?