३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पीसीआरपछि मात्रै कर्णाली प्रवेश गराइने  

चाँदनी कठायत

वीरेन्द्रनगर — प्रदेश सरकारले भारत वा अन्य प्रदेशबाट आउने नागरिकलाई पीसीआर जाँचपछि मात्र कर्णाली प्रवेश गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लक्षणसहितका बिरामी देखा परेको भन्दै सक्रिय भाइरस कर्णाली प्रवेश गर्न नदिन नाकाहरु सिल गर्ने बताएका हुन् । 

पीसीआरपछि मात्रै कर्णाली प्रवेश गराइने  

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेसम्म कर्णालीमा समुदायमा संक्रमण नफैलिएको दाबी गरे । ‘संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमण देखिएको छ,’ उनले भने, ‘अब भाइरस सक्रिय बनेको अवस्था छ, अब बबईमा पीसीआर गरेर मात्र प्रदेश भित्रिन दिइनेछ ।’ संक्रमण समुदायमा फैलिनेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले अब प्रदेशभित्रै पनि विभिन्न समयमा भीडभाड गर्न नदिने बताए । ‘भाइरस पूरै नियन्त्रण गर्न कठिन छ,’ उनले भने, ‘भाइरसको संक्रमण कम गर्न नागरिक सबै सचेत हुन आवश्यक छ ।’

उनका अनुसार सरकारले १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्नका लागि तयारी गरिरहेको छ । परीक्षण किट अभाव हुन नदिने भन्दै उनले हरेक जिल्लामा आइसोलेसन र भेन्टिलेटर पनि थप गरिने जनाए । हरेक जिल्लामा १/१ सय बेडको आइसोलेसन राख्न सके उपचारमा सहज हुने उनको भनाइ छ । ‘स्थानीय तहमा पनि आइसोलेसन थप गर्न पैसा पठाएका छौं,’ उनले भने, ‘सके सबै स्थानीय तहमा नत्र २/३ वटा स्थानीय तहको केन्द्र पर्ने स्थानमा आइसोलेसन स्थापना गरिनेछ ।’

विपद्का लागि पनि तयारी

कर्णाली प्रदेश सरकारले विपद्पछिको राहत तथा उद्धार कार्यलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । मुख्यमन्त्री शाहीका अनुसार हरेक जिल्लामा उद्धार टिम गठन गरी सुरक्षाकर्मीमार्फत उद्धार सम्बन्धी तालिम दिइनेछ ।

‘उद्धारको टिम तयारी अवस्थामा हुनेछ,’ उनले भने, ‘हामीले सुरक्षाकर्मीलाई पनि उद्धारका लागि आवश्यक पर्ने सामान खरिद गर्न हरेक जिल्लामा ५/५ लाख बजेट पठाइसकेका छौं ।’ राहतका लागि पनि विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी सुर्खेतमै वायर हाउस स्थापना गरी खाद्यान्न स्टोर गरिने उनको भनाइ छ ।

उनले जाजरकोटका बाढी पीडितलाई ३ महिना पुग्ने खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्था सरकारले गरिसकेको जनाए । ‘राहत छिटो उपलब्ध गराउँछौं भन्दा पनि सडकका कारण समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले अब भदौ अन्तिमसम्मका लागि हेलिकप्टर भाडामा लिने सोच बनाएका छौं ।’

प्रकाशित : श्रावण २०, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?