एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

रासस

कर्णाली — अविरल वर्षाका कारण एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध रहेको छ ।  राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौं स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ ।

कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

“कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ”, ओलियाले भने, “आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ, भोलिसम्म सडक खुल्छ होला ।” बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जानकारी दिए ।

“मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो”, कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, “साउन १३ गते हिँड्दा १७ गतेसम्म कालीकोट सडकखण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।” भेटेरेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको सुनाए ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गरे । राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उनीहरुको भनाइ थियो ।

खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गरे । चार दिनसम्म सडक अवरुद्धमा पर्दा ७० हजार रुपैयाँको तरकारी कुहिएर गएको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण १८, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

धरानमा थप ९ जनामा देखियो कोरोना

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा आइतबार एकैपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएकाहरुमा धरान–१३ बस्ने कोरोना संक्रमित युवा काम गरेको धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् ।


धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्ने २ जना कर्मचारीका परिवारमा संक्रमण देखिएको हो । एक जनाको स्थायी घर विराटनगर र अर्को स्थायी घर जनकपुर हो ।

विराटनगर घर हुने कर्मचारी धरान–१ मा बस्छन् भने जनकपुर घर हुने परिवारसति धरान ८ मा बस्छन् । जनकपुर घर भएका कर्मचारीका श्रीमती, छोरी र वर्षीय छोरालार्ई संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुखले भने, ‘अन्य चारजना पुरुष भारतीय गोर्खा सेनामा कार्यरत सैनिकहरु हुन् । उनीहरु साउन १४ गते आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरु सबैको घर धरान नै हो ।’

साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप नौ जनामा कोरोना पोजिटिभ देखिएको हो । थपिएका संक्रमितसहित धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । संक्रमित सबैलाई आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन सेन्टरमा पठाइएको छ ।

सरकारले लकडाउन खोल्नासाथ स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या बढ्नुमा सर्वसाधारणको लापरबाही मुख्य कारण रहेको चिकित्सकहरुले बताएका छन् । बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख समेत रहेका कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिमका सदस्य प्रा.डा संजिव शर्माले स्थानीयस्तरमा फैलिएको कोरोना संक्रमणबाट बच्न आफै सचेत र सर्तक हुनुको विकल्प नरहेको बताए ।

यसैबीच धरानमा कोरोना सक्रमण बढेपछि उपमहानगरपालिकाले ‘र्‍यान्डम स्याम्लिङ’ विधि अनुसार पीसीआर परीक्षण गर्ने भएको छ । धरानका २० वटा रहेकामा प्रति वार्ड १० जनाको दरले पीसीआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बतााए ।

प्रकाशित : श्रावण १८, २०७७ १४:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×