३० किलोमिटरको भाडा १२ सय !

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट-डोल्पा सडकको खलंगा कालीमाठी खण्डमा निजी तथा व्यवसायी समितिका यातायातका साधनले मनोमानी भाडा असुल्दा यात्रु मर्कामा परेका छन् । जिप, बस लगायत साधनले कालीमाठीदेखि खलंगासम्म प्रतियात्रु १ हजार २ सय भाडा लिँदै आएका छन् ।

यातायातका साधनले टिकट नकाटेरै मनलाग्दी भाडा लिएर यात्रुलाई मारमा पारेको बारेकोट ८ का कल्से कुमाईले बताए ।

‘करिब ३० किलोमिटर दुरीको सडकमा १ हजार २ सय, त्यो भन्दा अरु अन्याय के होला,’ उनले भने । ‘गत वैशाखसम्म उक्त खण्डमा प्रतियात्रु २ सय लाग्थ्यो । अहिले यस्तो महँगो भयो,’ उनले कुमाइले भने । उनका अनुसार एक वर्ष अघिसम्म उक्त खण्डमा २ सय रुपैयाँ भाडा कायम थियो ।

व्यवसायीले कोराना संक्रमणको वास्तै नगरेर गाडीमा कोचाकोच यात्रु राख्ने गरेको स्थानीय कमल केसीले बताए । ‘भेडाबाख्रा हुलेझैं यात्रु राख्छन्, भाडा पनि अचाक्ली महँगो भयो,’ उनले भने, ‘प्रहरी प्रशासनको बेवास्ताले व्यवसायीको मनपरी छ ।’ लकडाउनका कारण आर्थिक मार खेप्दै आएका स्थानीयलाई मनलाग्दी गाडी भाडाले मर्का परेको उनको भनाइ छ ।

अन्य सडकमा पनि निर्धारित भाडादरलाई बेवास्ता गर्दै व्यवसायीले मनपरी भाडा असुलेको स्थानीयको गुनासो छ । ग्रामीण सडकमा प्रतिकिलोमिटरको ४० रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको नलगाड–६ की कौशिला घर्तीले बताइन् । उनका अनुसार जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी छ । कोराना संक्रमणअघि ६ सय रुपैयाँ भाडा लिने व्यवसायीले अहिले १ हजार ५ सय रुपैयाँसम्म असुलीरहेको उनको गुनासो छ ।

कोराना, बाढी–पहिरोलगायतका जोखिमका कारण नियमित दरभन्दा बढी भाडा लिने गरेको व्यवसायी भीमबहादुर बुढाले बताए । उनका अनुसार चिरा परेका सडक र खोलामा जवरजस्ती गाडी गुडाउनुपर्ने बाध्यता छ ।

गाडी सञ्‍चालकले स्थानीय प्रशासनको अनुमतिबिना यातायातका साधन चलाएर यात्रु ठग्ने गरेका छन् । त्यस्तै यातायात व्यवसायीले जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी असुल्ने गरेका छन् । कोराना संक्रमणअघि ६ सय भाडा लिने व्यवसायीले यतिबेला १ हजार ५ सय लिने गरेका छन् । तर सम्बन्धित निकायको त्यसतर्फ ध्यान पुग्न सकेको छैन । यसरी यात्रुबाट चर्को भाडा असुल्दा समेत नियमन निकाय मौन देखिएको छ ।

व्यवसायीले जिल्ला प्रशासन र यातायात व्यवसायीको अनुमतिबिना गाडी चलाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । मनपरी भाडा असुल्ने तथा यात्रुका लागि कोरानाबाट असुरक्षा हुने भएकोले गाडी संचालनमा रोक लगाउनु पर्ने अवस्था आएको प्रजिअ पन्तको भनाइ छ ।

विभिन्न सडकमा व्यवसायीले चर्को भाडा असुलेको जनगुनासोबारे प्रशासनले निगरानी गर्न सुरु गरेको उनले बताए । चर्को भाडा असुल्ने व्यवसायीलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गरिने प्रजिअ पन्तले बताए । उनले यस सम्बन्धमा तत्काल अनुगमन गरिने पनि बताए ।

पहिरोले ग्रामीण सडक अवरुद्ध

बाढी–पहिरोको कारण गत असारदेखि यहाँका दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएका छन् । ग्रामीण सडकमा यातायात अवरुद्ध हुँदा स्थानीयलाई जिल्लाभित्र र बाहिर आउजाउ गर्न समस्या भएको छ ।

खलंगा–पैंक–छेडा, मनघाट–सुयाडा, खलंगा–थलह, थलहबजार– छेडाबजार, थहलबजार–टापुचौर, कालीमाटी–बारेकोट, खलंगा –पाँचकाटीया, खलंगा–कार्कीगाउलगायत सडकमा यातायात अवरुद्ध भएका हुन् । यातायात सेवा अवरुद्ध भएपछि स्थानीयबासी २/३ दिन पैदल हिँडेर खलंगा आउन बाध्य भएको बारेकोट–४ का गणेशबहादुर सिंहले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘च्याउ भनेर विष खाइएछ’

चाँदनी कठायत

वीरेन्द्रनगर — घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याँक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए । तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी ५ जनालाई  गुमाउनुपर्‍यो । उनी आफै पनि अस्पतालको शय्यामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

साउन ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा भाेलिपल्ट २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र २ वर्षीया अन्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ‘हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ,’ अस्पतालको बेडमा रहेका टेकबहादुरले बुधबार कान्तिपुरसँग भने, ‘राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुपर्‍यो ।’ अहिले उनी आईसीयुमै रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मुली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य ८ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा श्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो । त्यसैले हतार–हतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार २ वर्षीया नातिनी अन्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा ७ जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति १६ वर्षीया छोरी औसरा, मंगलबार दिउँसो १३ वर्षीया छोरी धनसरा तथा ११ वर्षीया नातिनी निरुता र शुक्रबार बिहान छोरा ललितको मुत्यु भयो ।

जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुग्यो

अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरुको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बिरामीलाई बेला–बेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताए ।

सामान्य आर्थिक अवस्था भएका टेकबहादुरका तीन छोरामध्ये जेठो छोरा मजदुरीका लागि जिल्लाबाहिर थिए । उनी बुधबार सुर्खेत आइपुगेका छन् । कान्छो छोरा र बुहारी माइतीमा भएकोले च्याउरुपी विष खानबाट बचेको आफन्त टेकबहादुर रावलले बताए । ‘मजदुरी गरेर र केही गाईवस्तु पालेर खेती किसानी गरेर परिवार चलेको छ,’ उनले भने, ‘विषालु च्याउ भनेर नचिन्दा आफन्तसँगै खुसी पनि गुम्यो, उपचाररत बिरामीको पनि अवस्था के हुने भन्ने चिन्ताले सताएको छ ।’

च्याउ खाँदा ज्यान गुमाएकामध्ये औसरा र निरुता कुशे गाउँपालिकास्थित तपोधुन माविमा ६ कक्षामा अध्ययनरत थिए । ललित मान्नेढुंगा माविमा ११ कक्षामा अध्ययनरत थिए । वडाध्यक्ष गोपालबहादुर नेपालीले स्कुले बालबालिकाको मृत्युपछि गाउँमा शोक छाएको बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×