‘च्याउ भनेर विष खाइएछ’

चाँदनी कठायत

वीरेन्द्रनगर — घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याँक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए । तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी ५ जनालाई  गुमाउनुपर्‍यो । उनी आफै पनि अस्पतालको शय्यामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

‘च्याउ भनेर विष खाइएछ’

साउन ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा भाेलिपल्ट २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र २ वर्षीया अन्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ‘हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ,’ अस्पतालको बेडमा रहेका टेकबहादुरले बुधबार कान्तिपुरसँग भने, ‘राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुपर्‍यो ।’ अहिले उनी आईसीयुमै रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मुली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य ८ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा श्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो । त्यसैले हतार–हतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार २ वर्षीया नातिनी अन्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा ७ जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति १६ वर्षीया छोरी औसरा, मंगलबार दिउँसो १३ वर्षीया छोरी धनसरा तथा ११ वर्षीया नातिनी निरुता र शुक्रबार बिहान छोरा ललितको मुत्यु भयो ।

जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुग्यो

अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरुको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बिरामीलाई बेला–बेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताए ।

सामान्य आर्थिक अवस्था भएका टेकबहादुरका तीन छोरामध्ये जेठो छोरा मजदुरीका लागि जिल्लाबाहिर थिए । उनी बुधबार सुर्खेत आइपुगेका छन् । कान्छो छोरा र बुहारी माइतीमा भएकोले च्याउरुपी विष खानबाट बचेको आफन्त टेकबहादुर रावलले बताए । ‘मजदुरी गरेर र केही गाईवस्तु पालेर खेती किसानी गरेर परिवार चलेको छ,’ उनले भने, ‘विषालु च्याउ भनेर नचिन्दा आफन्तसँगै खुसी पनि गुम्यो, उपचाररत बिरामीको पनि अवस्था के हुने भन्ने चिन्ताले सताएको छ ।’

च्याउ खाँदा ज्यान गुमाएकामध्ये औसरा र निरुता कुशे गाउँपालिकास्थित तपोधुन माविमा ६ कक्षामा अध्ययनरत थिए । ललित मान्नेढुंगा माविमा ११ कक्षामा अध्ययनरत थिए । वडाध्यक्ष गोपालबहादुर नेपालीले स्कुले बालबालिकाको मृत्युपछि गाउँमा शोक छाएको बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?