कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

औद्योगिक ग्रामको काम अन्तिम चरणमा

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा निर्माणाधीन लघु औद्योगिक ग्रामको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा निर्माण भइरहेको ग्रामको करिब ८५ प्रतिशत काम सम्पन्न भएको हो ।

६ महिनाभित्र सञ्चालनमा आउने गरी ग्राम निर्माणलाई तीव्रता दिइएको निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मै काम सक्ने गरी सम्झौता भए पनि लकडाउनका कारण समस्या भएको निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले बताए । ‘लकडाउनका कारण ढिलो भएको हो,’ उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ, अहिलेसम्म आर्थिक प्रगति ८३ प्रतिशत भएको छ, ६ महिनाभित्रै काम सकेर हामीलाई हस्तान्तरण हुन्छ ।’ उनका अनुसार ७ करोड २४ लाख रुपैयाँको लगानीमा ग्राम बन्‍न लागेको हो ।

निर्देशनालयले औद्योगिक ग्राम सञ्चालनका निर्देशिका बनाउने तयारी थालेको छ । कर्णालीका लघु उद्यमीलाई घरेलु वस्तुको उत्पादनमा सघाउन ग्राम निर्माण गर्न लागिएको हो । ग्रामका ६ वटा ब्लक (भवनहरु) छन् । सडक, विद्युत्, पानी, यातायात तथा पार्किङ सुविधासहितको आधुनिक प्रविधि ग्राममा रहने निर्देशक योगीले बताए । ‘निर्माण सम्पन्न भएपछि विपन्‍न तथा सीमान्तकृत वर्गका व्यवसायीले सजिलै व्यवसाय सञ्चालन गर्न सक्नेछन,’ उनले भने, ‘भिलेज निर्माणपश्चात स्थानीय उत्पादनको बिक्री वितरण सहज हुनेछ ।’

जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड)सँगको समन्वयमा औद्योगिक ग्रामको निर्माण योजना अघि सारिएको हो । औद्योगिक ग्राममा अत्याधुनिक सुविधासहित भूकम्प प्रतिरोधात्मक संरचना निर्माणाधीन छन् । निर्देशनालयका अनुसार ग्राममा ६२ वटा सटर हुनेछन् । ग्राममा हर्बल ब्लक, मिनरल, परम्परागत उद्योग, उत्पादनमूलक उद्योग र कृषि उद्योग सञ्चालन हुने निर्देशक योगीले बताए । ‘अहिले नै यी उद्योग सञ्चालनमा आउँछन् भन्न सकिँदैन,’ उनले भने, ‘उद्यमीहरूले के उत्पादन गर्छन्, त्यसमा भर पर्छ, घरेलु उत्पादनका लागि आवश्यक पर्ने पूर्वाधार हामीले उपलब्ध गराउने हो ।’

योजनाअनुसार ग्रामको चारैतर्फ विभिन्‍न भवनहरू निर्माण गरिनेछ। सोही भवनका बाहिरतर्फ सटर राखेर उत्पादित वस्तुहरू बिक्री वितरण गर्न सकिनेछ । भित्र उत्पादन गर्नका लागि छुट्टै कक्षहरू रहनेछन् । ग्राम निर्माणका लागि ०७४ फागुनबाट एसबीए/रविन जेभीले जिम्मा लिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?