हत्या आरोपमा ४ जना पक्राउ
जुम्ला — हिमा गाउँपालिकाको जार्जीमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ३५ वर्षीय लगम भनिने लोकबहादुर शाहीको शव बुधबार जार्जी र सिम्तली गाउँको बीचमा बाटोदेखि करिब ५० मिटर तल भेटिएको थियो ।
मंगलबार राति उनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले घटनामा संलग्न भएको शंकामा स्थानीय चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । ‘चारै जनाको नाममा किटानी जाहेरी पनि परेको छ,’ उनले भने ।
मृतकका आफन्त चेतन शाहीले लगमको छाती, अनुहार र टाउकोमा ठूलो चोट लागेको बताए । उनका अनुसार चोट हेर्दा ढुंगाले हानेको जस्तो देखिन्छ । पदम भन्ने पदमबहादुर शाही, अम्मर शाही, जयबहादुर बुढा र बलबहादुर बुढाको नाममा किटानी जाहेरी दर्ता गरिएको उनले बताए ।
‘चार दिनसम्म प्रहरीले जाहेरी लिन आनाकानी गरिरहेको थियो, आज बल्ल जाहेरी लिएर अनुसन्धान थालेको भनेको छ,’ उनले भने । घटनाको दिन मृतक र ती व्यक्तिहरूले स्थानीय एक होटलमा सँगै बसेर खाजा खाएको र पछि झगडा परेको शाहीले बताए ।
प्रकाशित : श्रावण १०, २०७७ १९:३२