लकडाउन खुल्यो, सावधानी छैन

चाँदनी कठायत

वीरेन्द्रनगर — गुर्भाकोट नगरपालिका–१४ गुमीकी हरिकला गुरुङ असार अन्तिम साता छोरी भेट्न गाडी रिजर्भ गरेर वीरेन्द्रनगर आएकी थिइन् ।लकडाउन खुलेको थाहा पाएपछि शुक्रबार बिहान घर फर्किन बसपार्क पुगिन् । तर, गाडीभित्र र बसपार्कमा भद्रगोल अवस्था देखेर उनलाई घर जान डर लाग्यो ।

लकडाउन खुल्यो, सावधानी छैन

‘मान्छेहरुले मास्क लगाएका छैनन्, गाडीभित्र एउटै सिटमा खाँदिएर बसेका छन्,’ उनले भनिन्, ‘यस्तोमा जोखिम मोलेर कसरी घर जाने ?’ उनी छोरीकै घर फर्किइन् ।

सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै केही दिनअघि लकडाउन खुला गरेको हो । तर, सर्वसाधारणले भने खासै सावधानी अपनाएको देखिदैन । यातायात, बैंक, खानेपानी तथा विद्युतका कार्यालय र बजारमा जाँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कोरोनाबाट बच्‍ने उपाय कमैले पालना गरेको पाइन्छ । अहिले छोटो दुरीमा चल्ने साना गाडीमा मान्छेहरु खाँदिएर जाने गरेका छन् । यसमा यातायात व्यवसायी र प्रहरी–प्रशासनले कसैले ध्यान दिएका छैनन् । सर्वसाधारणले समेत सावधानी अपनाएका छैनन् । काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाका अनुसार अहिले १६ सिट क्षमताका दैनिक करिब डेढ दर्जन सार्वजनिक सवारी चल्ने गरेका छन् । अन्तरजिल्ला यातायात नखुलेकोले ठूला बस सञ्चालन हुन नसकेका उनले बताए ।

बैंकहरुमा औपचारिकताको लागि सेनिटाइजर हातमा लगाउनेबाहेक अरु सावधानी छैन । मान्छेहरु ठेलमठेल भएर उभिने गरेका छन् । बराहताल गाउँपालिकाका धनवीर रानाले लकडाउनमा कडाइ गरेका बेला एक–एक जना गरी अनिवार्य हात धोई सेनिटाइजर लगाएर प्रवेश गर्न दिने बैंकहरुमा पनि अहिले भिडभाड हुने गरेको बताए । ‘बैंकमा आफ्नो कारोबार गर्नैपर्छ,’ उनले भने, ‘बैंकमा कहाँ–कहाँबाट आएकाहरु सामान्य मास्क मात्रै लगाएर लाइनमा बसेका हुन्छन् ।’

लकडाउन भएपछि सुरुसुरुमा सबैले उच्च सतर्कता अपनाएका थिए । लकडाउनको अवधि लम्बिएपछि सजग हुनै छाडेका नागरिक अहिले सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै निस्फिक्री बनेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले यातायातका साथै बजारमा भइरहेको भीड कम गर्न अनुगमन भइरहेको बताए । ‘दैनिकजसो भीडभाड बढी हुने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा दुरी कायम गरी सेवा प्रदान गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘सामूहिक रुपमा हुने भेटघाटमा पनि रोक लगाएका छौं ।’

समुदायमा छैन परीक्षण

कर्णालीमा हालसम्म ३८ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गरिएको छ । समुदायस्तरमा भने परीक्षण प्रभावकारी हुन सकेको छैन । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चैत–वैशाखमा २ हजार ९८, जेठमा १४ हजार १ सय १० र असारमा १९ हजार २ सय २८ स्वाब परीक्षण भएका छन् । साउनमा शुक्रबारसम्म ३ हजार १ सय ९ जनाको पीसीआर परीक्षण भएको निर्देशनालयका अधिकृत पदम केसीले जानकारी दिए । उनका अनुसार केन्द्रीय प्रयोगशालामा ६ सय २४ जनाको, प्रादेशिक ल्याब सुर्खेतमा १७ हजार ४ सय २ जनाको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म १७ हजार ६ सय ५० जनाको परीक्षण भएको छ ।

रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा असारमा स्थापना भएको प्रयोगशालामा हालसम्म ८ सय ७७ जनाको परीक्षण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । दैलेखमा पनि असारमै स्थापना भएको प्रयोगशालामा अहिलेसम्म १ हजार ५ सय ९३ जनाको परीक्षण भएको छ । कर्णाली प्रदेशका विभिन्‍न जिल्लामा रहेका क्‍वारेन्टाइनमा हालसम्म १ हजार १ सय ६८ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

समुदायमा संक्रमण फैलिन सुरु गरे पनि परीक्षणलाई तीव्रता दिइएको छैन । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका समुदायका व्यक्तिको परीक्षण गरिएको छ । निर्देशनालयका अधिकृत केसीले लकडाउन खुलिसकेपछि केहीले मात्रै मास्क र सेनिटाइजर प्रयोग गरी सावधानी अपनाउने गरेको बताए । विस्तारै समुदायमा संक्रमण फैलिन सुरु गरेको अवस्थामा उच्च सावधानी नअपनाएमा जटिल समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १०, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?