२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कालीकोटमा शिविर सञ्‍चालन गर्दै डा. केसी

तुलाराम पाण्डे

कालीकोट — गत कात्तिकमा जिपको ठक्कर दिँदा खाडाचक्र–१०, चौकीगाउँकी ५० वर्षीया केलसरा शाहीको खुट्टा भाँचियो । नेपालगन्ज गएर खुट्टामा रड हाले पनि आर्थिक अवस्था कमजोर हुँदा फेरि परीक्षण गर्न जान सकेकी थिइनन् । तर जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले शिविर चलाएपछि उनले लामो समयपछि उपचार पाएकी छिन् ।

कालीकोटमा शिविर सञ्‍चालन गर्दै डा. केसी

३ महिनाअघि खुट्टा भाँचिए पचालझरना–९, तिखातीकी ३ वर्षीय रिजन शाहीले पनि शिविरकबाट उपचार पाएका छन् । भीरैभीर भएको कालीकोटमा वर्सेनि भीर र रुखबाट लडेर हातखुट्टा भाँचिने समस्या बढी छ । भीर र रुखबाट लडेर वर्सेनि करिब ६० जनाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बाढी–पहिरोलगायत विपत्तिभन्दा भीरपाखाबाट लडेर मृत्यु हुने र अंगभगं हुनेको संख्या बढी रहेको बताए ।

कालीकोटमा हाडजोर्नी समस्या बढी भएको थाहा पाएर डा. केसी शिविर चलाउन मान्मा पुगेका हुन् । बाजुरा, अछाम हुँदै एक साताअघि कालीकोट पुगेका केसीले अहिलेसम्म २६ महिला र १८ पुरुष गरी ४४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिसकेका छन् । उनी आएको थाहा पाएपछि गाउँ–गाउँबाट उपचार गराउन आउने बिरामीको घुँइचो लागेको छ ।

अस्पतालका सिनियर अहेव जगदीश नेपालीका अनुसार शिविरमार्फत १३ जनाको हड्डी लाटो बनाएर जोर्नी मिलाइएको छ भने ६ जनाको बेहोस नबनाएर प्लास्टर गरिएको छ । ‘उहाँ आएको थाहा पाएर उपचार गराउन टाढा–टाढाबाट बिरामी आएका छन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएर वर्षौंदेखि उपचार नपाएका बिरामीले जिल्लामै भरपर्दो उपचार सेवा पाएका छन् ।’ परीक्षण गरेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ८, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?