विपद्ले लिँदै ज्यान

कर्णालीमा वर्षेनी प्राकृतिक विपद्‌बाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
चाँदनी कठायत

वीरेन्द्रनगर — गत असार २५ गते जाजरकोटको बारेकोट–४ सार्कीटोलमा गएको पहिरोले ११ जनाको ज्यान लियो । १ जना अझै बेपत्ता छन् ।

विपद्ले लिँदै ज्यान

बारेकोट–६ स्थित धुमाखोलाले बगाएर बेपत्ता भएका २ जनाको अहिलेसम्म फेला परेका छैनन् । बाढी–पहिरोले बारेकोटका ८ वडाका १ हजार ५५ घरपरिवार विस्थापित भएका छन् ।

असार २६ गते रुकुम पश्चिममा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु भयो भने १ जना घाइते भए । आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाइको घर पहिरोले पुरिँदा उनले २८ वर्षीया पत्नी सीता र ६ वर्षीय छोरा हाविललाई गुमाए । गत वैशाख २३ गते सल्यानको कुमाख गाउँपालिका–३, चिनालीमा चट्याङ लागेर ६ वर्षिया हिमानी रानाको मृत्यु भयो भने ५ जना घाइते भए ।

कर्णालीमा वर्षेनी प्राकृतिक विपद्‌बाट मृत्यु हुनेको संख्या बढिरहेको छ । विशेषगरी वर्षायाममा निम्तिने विपद्‌बाट कर्णालीमा धेरैको ज्यान जाने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै ४३ जनाको विपद्का कारण मृत्यु भएको छ । कार्यालयका प्रवक्ता एवम् एसएसपी राजेशनाथ बाँस्तोलाले चालू आवमा विपद्‍मा परी ८५ जना घाइते भएको बताए । उनका अनुसार यस वर्ष बाढीपहिरोबाट मात्रै ३३ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।

अहिलेसम्म प्रदेशभरि २ सय ९४ वटा स्थानमा बाढी गएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुर्खेतमा १ सय ५१, दैलेखमा ११, कालिकोटमा ४, जुम्लामा २६, हुम्लामा १५, जाजरकोटमा २५, सल्यानमा १४ र रुकुमपश्चिमका ४८ स्थानमा बाढी गएको छ । बाढीका कारण कर्णालीमा १ अर्ब २ करोड ७० लाख रुपैयाँको क्षति पुगेको कार्यालयको तथ्यांक छ ।

प्रवक्ता बाँस्तोलाका अनुसार १ सय ३८ स्थानमा पहिरो गएको छ । दैलेखमा ६, कालिकोटमा ४, हुम्लामा ४, डोल्पामा १४, जाजरकोटमा ४५, सल्यानमा १३ र रुकुमपश्चिममा ५२ स्थानमा पहिरो गएको उनले जानकारी दिए । पहिरोबाट ६४ करोड २८ लाख रुपैयाँको क्षति भएको उनले जानकारी दिए ।

गत वर्ष जुम्ला र डोल्पामा ४/४ स्थानमा हिमपहिरो जाँदा ३ जनाको मृत्यु भएको थियो । जसमा २७ लाख ३८ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ वर्षको अवधिमा ४९ स्थानमा चट्याङ पर्दा ५ जनाको मृत्यु भएको छ । चट्याङ लागेर ४४ जना घाइते भएका छन् । चट्याङबाट मात्रै ८५ लाख १४ हजार रुपैयाँको क्षति भएको प्रवक्ता बास्तोलाले बताए ।

कर्णालीमा आगलागी पनि बढ्दो क्रममा छ । गत आवमा १ सय ६० ठाउँमा आलगागी हुँदा सुर्खेत, जुम्ला, सल्यान र रुकुमपश्चिममा ४ जनाले ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेश सरकारले बाढी र पहिरोको जोखिममा रहेका कर्णालीका वस्तीहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ । अघिल्लो सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सुरक्षित स्थान पहिचान गरी नदी किनार र बाढी–पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दालाई स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । विपद्मा परेकाहरुलाई तत्काल उद्धारका लागि सुरक्षा निकाय पनि तयारी अवस्थामा राखिएको मन्त्री नरेश भण्डारीले बताए ।

उद्धारका लागि नेपाल प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउने र उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने निर्णय गरिएको उनको भनाइ छ । त्यस्तै, पहिरोले अवरुद्ध भएका राजमार्ग तुरुन्त खुलाउन राजमार्गमा २० देखि ३० किलोमिटरको दूरीमा स्काभेटर राख्ने तयारी गरिएको छ भने सडक पुगेका प्रत्येक स्थानीय तहमा खाद्य सामग्री ढुवानीका लागि एउटा ट्रक राखिनेछ ।

प्रकाशित : श्रावण ८, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?