कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

असारमा मात्रै ९ अर्ब भुक्तानी

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले असार महिनामा मात्रै ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै कर्णाली सरकारले ९ अर्ब ४१ करोड २३ लाख रुपैयाँ भुक्तानी दिएको हो ।

असारमा मात्रै ९ अर्ब भुक्तानी

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा चालुतर्फ ३ अर्ब ३४ करोड ४३ लाख र पुँजीगततर्फ ६ अर्ब ६७ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि निर्माण व्यवसायीले विकास निर्माणलाई गति दिन सकेका थिएनन् ।

गत आर्थिक वर्षको ११ महिनाको खर्चभन्दा असार महिनामा बढी रकम खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव ०७६/७७ को जेठ मसान्तसम्म ६ अर्ब ९५ करोड ६९ लाख खर्च भएको थियो । त्यसमध्ये पुँजीगत मात्रै ६ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले बताइन् ।

पुँजीगत खर्च बढ्यो

कर्णाली सरकारले गत आर्थिक वर्षमा बजेटको ४७.६५ प्रतिशत अर्थात् १६ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । जसमा पुँजीगततर्फ आव ०७५/७६ को तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।

अघिल्लो आवमा २४.७१ प्रतिशत पुँजीगत बजेट खर्च गरेको कर्णाली सरकारले गत आवमा ४२.८६ प्रतिशत अर्थात् ९ अर्ब १२ करोड ७२ लाख रुपैयाँ खर्च गरेको हो । जसमा चालुतर्फ पूर्वाधार विकासमा ७ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च भएको श्रेष्ठले बताइन् । लकडाउनका कारण अधिकांश योजनाको भुक्तानी असारमै दिइएको थियो ।

५२ प्रतिशत बजेट फ्रिज

गत आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट छुट्याएको कर्णाली सरकारको करिब ५२ प्रतिशत बजेट फ्रिज भएको छ । गत वर्ष १७ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ फ्रिज गएको छ ।

जसमध्ये पुँजीगततर्फ १२ अर्ब १६ करोड ६५ लाख र चालुतर्फ ५ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा बढी र सबैभन्दा कम आर्थिक मन्त्रालयले खर्च गरेका छन् । कृषि मन्त्रालयले ३ अर्ब ४३ करोड ५ लाख बजेटमध्ये २ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको पुँजीगततर्फ १४ करोड ५२ लाख र चालुतर्फको ६३ करोड ४९ लाख गरी ७८ करोड १ लाख ९५ हजार रुपैयाँ फ्रिज भएको छ ।

गत वर्ष बजेटको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० अर्ब ७० करोड बजेटमध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेकोमा ४ अर्ब ४१ करोड फ्रिज भएको छ । ४ अर्ब ७० करोड बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले २ अर्ब ७९ करोड खर्च गरेको छ भने १ अर्ब ९० करोड ७८ लाख रुपैयाँ फिर्ता गएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि बजेट खर्च गर्न नसक्दा करिब ७७ प्रतिशत बजेट फ्रिज भएको छ । कार्यालयका लागि ५ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब २२ करोड २३ लाख ७रुपैयाँ खर्च भएको छ भने ४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ फ्रिज गएको छ । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि २७ करोड १९ लाख रुपैयाँ फिर्ता भएको छ । ६९ करोड ९९ लाख रुपैयाँ बजेट भएको मन्त्रालयले गत वर्ष ४२ करोड ७९ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको पनि १ अर्ब ३९ करोड २७ लाख रुपैयाँ फ्रिज भएको छ । २ अर्ब ८६ करोड बजेटमा मन्त्रालयले १ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको थियो । कर्णाली प्रदेशसभाको ५ करोड ७९ लाख, मुख्य न्यायाधिवक्ताको कार्यालयको ६८ लाख र कर्णाली प्रदेश योजना आयोगको ४ करोड ४१ लाख रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?