हल्जीगाउँ हिमपहिरोको जोखिममा

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिका-६ स्थित हल्जीगाउँ हिमपहिरोको जोखिममा परेको भन्दै स्थानीयले पहरा दिन थालेका छन् । वर्षा सुरु भएसँगै हिउँ पग्लन थालेपछि हिमपहिरो जान सक्‍ने भन्दै स्थानीय पालो लगाएर पहरा दिन थालेका हुन् ।

गत वर्ष हिमालपारीको बस्ती मानिने लिमीमा अत्यधिक हिमपात भएको थियो । लामो समयसम्म पनि हिउँ नबिलाउँदा गाउँ जोखिममा परेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘वर्षा सुरु भएपछि हिउँ पग्लन थालेको छ,’ उनले भने, ‘गाउँ माथिबाट हिमपहिरो खस्‍ने डरले स्थानीयबासी त्रसित बनेका छन् ।’

पानी पर्दा पहिरो खस्‍न सक्ने भन्दै स्थानीयले पालो लगाएर पहरा दिन थालेको उनले बताए । उनका अनुसार हल्जीका ९६ घरधुरी हिमपहिरोको उच्च जोखिममा छन् । उनले सामुदायिक विद्यालय पनि पहिरोको जोखिममा परेको जनाए । ‘स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ,’ उनले भने, ‘पहिरो खस्‍न नदिन पूर्वतयारी थालेका छौं ।’

हल्जीगाउँको सिरानमा हिप हिमताल छ । केही वर्षको अन्तरालमा ताल फुट्ने गरेकाले स्थानीयबासी त्रसित बनेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार ४ वर्षअघि ताल फुट्दा खसेको पहिरोले आधा दर्जन घर र घट्ट बगाएको थियो । हल्जीखोलामा तटबन्ध गर्न सके हिमपहिरोको समस्या समाधान हुने उनी बताउँछन् ।

यसैबीच, ताजाकोट गाउँपालिकाका विभिन्‍न ठाउँमा पहिरो जाँदा झण्डै १ हजार रोपनी खेतीयोग्य जमिन बगाएको छ । पहिरोले विभिन्‍न वडामा लगाइएको मकै, धान, कोदो, चिनोलगायत खाद्यबाली बगाएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए । ‘भर्खरै रोपेर तंग्रिएको धानबालीमा पहिरोले बढी क्षति पुर्‍याएको छ,’ उनले भने, ‘उत्पादन घट्ने भएपछि किसान चिन्तित छन् ।’

पहिरोको जोखिम बढ्दै गएपछि ताजाकोट–४, खर्रास्थित दलितबस्तीका २२ घरपरिवारले बस्ती छोडेको अध्यक्ष मल्लले बताए । उनका अनुसार गाउँमुनिको जिमकोइलामा बाढी बढ्दै गएको छ भने गाउँमाथिबाट पहिरो खस्‍ने क्रम जारी छ ।

पहिरोको डरले देउलागैरामा त्रिपाल टाँगेर बसिरहेको स्थानीय धनसुर दमाइले बताए । ‘पहिरोले उठिबास लगायो,’ उनले भने, ‘यसपालिको वर्षामा घर जोगाउन मुस्किल देखियो । सर्केगाड गाउँपालिका–५ स्थित गोठी, साया, मुन्डी, जैर र तुम्चगाउँमा पनि पहिरोले खेतीसहितको जग्गा बगाएको स्थानीयको गुनासो छ ।

प्रकाशित : श्रावण ५, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?