कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मध्यपहाडी लोकमार्गको अन्तिम खण्ड स्तरोन्‍नति सुरु

हरि गौतम

रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम खण्डमा पर्ने सबै सडकमा स्तरोन्‍नोतिको काम सुरु भएको छ । सेरीगाउँ–हासिबाङ खण्डको ठेक्का लागेसँगै लोकमार्गको सबै खण्डमा स्तरोन्‍नोतिको काम सुरु भएको हो ।

मध्यपहाडी लोकमार्गको अन्तिम खण्ड स्तरोन्‍नति सुरु

अरु खण्डमा यसअघि नै सडक स्तरोन्‍नोतिको लागि ठेक्का लागिसकेको थियो । मध्यपहाडी लोकमार्ग योजना कार्यालय, दैलेखका अनुसार १२ किलोमिटर दूरीको सेरीगाउँ– हाँसिबाङ खण्ड सबैभन्दा अप्ठ्यारो मानिएको छ । योजना प्रमुख नारायणप्रसाद निहुरेले अन्य खण्डमा कालोपत्रेका लागि ठेक्का लागेर पनि झण्डै आधा काम सकिएको बताए । उनका अनुसार लकडाउन सुरु हुनुभन्दा अघि ठेक्का आह्वान गरिएको यो खण्डमा केही दिनअघि काम थालिएको हो ।

कालोपत्रेका लागि गत जेठ २८ गते निर्माण कम्पनी र योजना कार्यालयबीच सम्झौता भएको हो । जसका लागि दिवा/यति जेभीले निर्माणको जिम्मा पाएको छ । ४४ करोड ९ लाख रुपैयाँमा कालोपत्रेको सम्झौता भएको हो ।

योजना प्रमुख निहुरेका अनुसार कम्पनीले २०७९ मंसिर २७ गतेभित्र कालोपत्रे सक्ने गरी जिम्मा पाएको छ । डबल कटिङ, वाल, ग्याविङ वाल, नालीसहित सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसित सम्झौता भएको योजना कार्यालयको भनाइ छ । कार्यालयका अनुसार १२ किलोमिटर लामो सडक ९ मिटर चौडाइको हुनेछ । सडकमा साढे ७ मिटर कालोपत्रे उनले जानकारी दिए । जसमा डेढ मिटर सडक क्षेत्र नाली र वालले ओगट्नेछ ।

अहिले उक्त खण्डको मूल सडक बिग्रेकाले अर्को सडकबाट यातायातका साधन सञ्चालन भइरहेका छन् । रुकुम पश्चिम र रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अन्तर्गतका ८ खण्ड छन् । ८ मध्ये ७ खण्डमा कालोपत्रे गर्नेसम्मको ठेक्का लागेर धमाधम काम भइरहेको छ । केही खण्डको कालोपत्रेसमेत सकिएको छ भने केहीमा निर्माणको काम अन्तिम चरणमा पुगेको योजना प्रमुख निहुरेले बताए ।

उनका अनुसार रुकुम पश्चिम र पूर्व गरी २ जिल्लामा मध्यपहाडी लोकमार्गको साढे १ सय २३ किलोमिटर सडकमध्ये सबैभन्दा बढी अप्ठेरो खण्ड सेरीगाउँ–हाँसिबाङ खण्ड हो । यो खण्डमा कठीन भूगोलका कारण हरेक वर्षामा तल र माथिबाट झर्ने पहिरोले यात्रुले सास्ती भोग्दै आएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका–१ को तुकुवाङखोलादेखि बाग्लुङ सीमासम्मको १३ किलोमिटरको एउटा खण्ड छ । तुकुवाङखोलादेखि पश्चिमतर्फको किमुबोटसम्म १६ किलोमिटर अर्को खण्ड र किमुबोटदेखि पश्चिमतर्फ रुकुमकोटसम्म १६ किलोमिटर खण्डमा पनि कालोपत्रेको काम जारी छ ।

यसैगरी रुकुम पूर्वको रुकुमकोटदेखि रुकुम पश्चिमको रिनदहसम्मको २० किलो मिटर सडक र रिनदहदेखि शिलतपोखरी सम्मको १४ किलोमिटरमा पनि निर्माणको काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

हासिवाङदेखि चौरजहारी नगरपालिकाको भेरी पुलसम्मको साढे ३२ किलोमिटरमा २ खण्ड बनाएर निर्माणको काम गरिरहेको योजना प्रमुख निहुरेले जनाए । उनका अनुसार हाँसिवाङदेखि चाइनबागरसम्म साढे १६ किमि र चाइनाबगरदेखि चौरजहारी भेरीपुलसम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रे भइरहेको हो ।

प्रकाशित : श्रावण १, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?