३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दैलेखका क्वारेन्टाइन रित्तिँदै

ज्योति कटुवाल

दैलेख — दुई महिनाअघिसम्म दैलेखका ११ वटै स्थानीय तहमा निर्माण गरिएका २ सय ३३ स्थानका क्वारेन्टाइन भरिभराउ थिए । ती क्वारेन्टाइनमा एकैपल्ट १२ हजार जना बसेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

दैलेखका क्वारेन्टाइन रित्तिँदै

कार्यालयका अनुसार अहिले क्वारेन्टाइनमा १ सय ५३ जना मात्र बसिरहेका छन् । भारतबाट फर्किनेको संख्या घटेपछि यसअघि कोरोना संक्रमणको ‘रेड जोन’ मानिएको दैलेखका क्वारेन्टाइन रित्तिँदै गएका हुन् ।

जिल्ला अस्पताल प्रमुख डा. निरञ्जन पन्तले ३९ संक्रमितलाई आइसोलेसनमा राखी उपचार गरिरहेको बताए । ‘परीक्षण ढिलो हुँदा एकैपल्ट ठूलो संख्यामा संक्रमण देखियो,’ उनले भने, ‘उपचारपछि निको भएर घर फर्कनेको संख्या बढेपछि आइसोलेसनमा पनि चाप घटिरहेको छ ।’ क्वारेन्टाइन रित्तिँदै गएपछि समुदायस्तरमा परीक्षणको दायरा बढाएको उनले जानकारी दिए ।

भारतको महाराष्ट्र र गुजरातबाट पछिल्लो समय धेरै नागरिक दैलेख भित्रिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनका अनुसार दुवै ठाउँबाट आएका नागरिकमा संक्रमणको दर पनि बढी देखिएको थियो । दैलेखमा ८ सय ४३ जनामा संक्रमण पुष्टि भएकामा ७ सय २५ जना निको भएर घर फर्किएका छन् ।

यसैबीच, सदरमुकामस्थित नारायण नगरपालिकामा बुधबारबाट ५० शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७१ लाख रुपैयाँ बजेटबाट अस्पताल निर्माण गरिएको हो । विद्यालयका आइसोलेसनबाट संक्रमितलाई नवनिर्मित कोरोना अस्पतालमा सार्न थालिएको जिल्ला अस्पताल प्रमुख डा. पन्तले जानकारी दिए ।

प्रकाशित : श्रावण १, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?