३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कर्णालीका डाक्टरले किसानको ऋण तिरिदिए

सुर्खेत — कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले आफूले पाउने प्रोत्साहन भत्ताबाट किसानको ऋण तिरिदिएका छन् । उनले आफ्नो लागि ‘कर्णाली सुगम वा दुर्गम होइन’ भन्दै भत्ता लिन अप्ठेरो लागेको समेत बताएका छन् ।

कर्णालीका डाक्टरले किसानको ऋण तिरिदिए

डा. केसी नवौं तहका विशेषज्ञ चिकित्सक हुन् । उनलाई कर्णाली प्रदेश सरकारले आधारभूत तलबको ७५ प्रतिशत (करिब ३२ हजार ६ सय रुपैयाँ) ‘कर्णाली प्रोत्साहन भत्ता’ बापत दिने गर्छ । त्यही भत्ताबापत आएको करिब २ लाख रुपैयाँ वीरेन्द्रनगर–३ निवासी कृष्णबहादुर खत्रीको ऋण तिरिदिएका हुन् ।

‘कृष्णबहादुर मेरा छिमेकी हुन्, भैंसी पाल्छन्, दूध बेच्छन्, निकै मिहिनेत गर्दा पनि वर्षको अन्त्यमा हिसाब गर्दा २ लाखको ऋण भएछ, एउटा भैंसी बेचेर अलिकति तिरेछन्,’ डा. केसीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यो वर्ष सरकारले डाक्टरलाई यहाँ काम गरेबापत प्रोत्साहन भत्ता दिएको छ, तर मेरो लागि कर्णाली दुर्गम वा सुगम होइन, त्यसैले मलाई त्यो भत्ता लिन गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै ऋण तिरियो ।’ बैंकहरु सधैं नाफामा भइरहँदा मिहिनेती कृष्णबहादुरजस्ता किसानले कहिले नाफा पाउलान् भन्दै उनले सरकारलाई किसानमैत्री बैंकिङ व्यवस्था लागू गर्न मागसमेत गरेका छन् ।

२ लाख रुपैयाँ ऋण तिरिदिएपछि किसान कृष्णबहादुर खत्रीसँग डा. नवराज केसी । तस्बिर सौजन्य : जगतदल जनाल विक

प्रादेशिक कोरोना विशेष अस्पतालका सुपरभाइजर चिकित्सकसमेत रहेका डा. केसी समाजसेवीको रुपमा परिचित छन् । उनको अगुवाईमा ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान सञ्चालित छ । उनले आफूले पाउने सम्पूर्ण तलब मुनाफारहीत संस्था विङ्स फाउन्डेसनलाई दिने गरेका छन् । गरिब तथा विपन्न समुदायका बालबालिकाको निःशुल्क उपचारसमेत गर्दै आएका छन् । ‘किसानको नाममा सरकारले ल्याउने कार्यक्रमबाट वास्तविक किसानले लाभ पाउँदैनन्,’ डा. केसीले भने, ‘अहिले कोरोना प्रकोपको बेला पनि सबैभन्दा बढी बिपन्न किसान मारमा परेका छन्, सरकारले समयमै सही नीति र कार्यक्रम ल्याउनुपर्छ ।’

प्रकाशित : श्रावण १, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?