किशोरी बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

कालीकोट — किशोरी बलात्कारको आरोपमा खाँडाचक्र–६ का वडाध्यक्ष जगदीश शाही मंगलबार राति पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा जाहेरी दिएपछि सदरमुकाम मान्मबाट ४९ वर्षीय वडाध्यक्ष शाही पक्राउ परेका हुन् ।

किशोरी बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

शाहीले किशोरीलाई २०७४ सालदेखि नै यौन दुर्व्यवहार गर्दै आएको र गत वर्षको भदौ १७ गते घरमै आएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल कक्षा १० मा पढ्ने किशोरीलाई वडाध्यक्ष शाहीले घटना अरुलाई भने ज्यान मार्ने धम्की दिएकाले पहिले भन्न नसकेको बालिकाले बताइन् । उनले बारम्बार दुर्व्यवहार गर्न थालेपछि सहन नसकेर न्यायका लागि मुद्दा दिएको सुनाइन् ।

‘ममाथि अन्याय भयो,’ पीडित किशोरीले कान्तिपुरसँग भनिन्, ‘सहन नसकेर न्याय माग्न सदरमुकाम आएकी हुँ ।’ पहिलेदेखि दुर्व्यवहार गर्दै आए पनि डर त्रासले घटना लुकाएर कसैलाई नभने पनि कुकर्म गरिरहेको अर्की बालिकाले देखेपछि बाहिर आएको आफन्तले बताए ।

आरोपितलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । ‘मुद्दा दर्ता भएर पीडक भनिएकालाई पक्राउ पनि गरिसकेका छौं,’ ओलियाले भने, ‘अनुसन्धानपछि सबै कुरा खुल्छ ।’

पीडित किशोरी आफैले प्रहरीमा जाहेरी दिएकी हुन् ।

प्रकाशित : असार ३१, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?