कर्णालीमा सांसद र थुनुवामा कोरोना संक्रमण

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाका १ सांसदमा कोरोना भाइरस संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार साँझ ती सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णालीमा सांसद र थुनुवामा कोरोना संक्रमण

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सांसदको सम्पर्कका आएका अन्य सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको बताए । संक्रमित भएका सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जबरजस्ती करणी आरोपमा पक्राउ परेका ती युवामा संक्रमण देखिएपछि हिरासतकक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवा हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेशअनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गतेको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको हो ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा आएका १४ जना प्रहरी, ६ जना थुनुवा र उनीहरुका ३ जना आफन्तको स्वाब संकलन गरी गरिएको परीक्षणमा पनि दुई प्रहरीमा संक्रमण देखिएको छ ।

प्रकाशित : असार ३०, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?