कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना कहरमा घरमै शिक्षा 

तुलाराम पाण्डे

कालीकोट — कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक खटाइ बालबालिकालाई पढाउन थालिएको छ । शिक्षकहरु शैक्षिक सामग्रीसहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुसी भएका छन् ।

कोरोना कहरमा घरमै शिक्षा 

चैत पहिलो सातादेखि विद्यालय नआएकी खाँडाचक्र–४, ताडीकी ८ वर्षीया कोपिला विश्वकर्माले शिक्षण सिकाइ सामग्री पाएपछि घरमै पढ्न थालेकी छिन् । नवज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत उनले अरु साथीहरुसँगै सामूहिकरुपमा पठनपाठन गर्न थालेकी हुन् । विद्यालयले अक्षर लेखन किताबसहित चित्र बनाउने र खेल सामग्री उपलव्ध गराएपछि बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका १ सय ४३ जना बालबालिकालाई घरमै पठनपाठन सुविधा पुगेको छ । शैक्षिक सामग्रीसहित विभिन्न शैक्षिक क्रियाकलाप सहज बनाउन टोलटोलमा शिक्षक खटाइएको प्रधानाध्यापक रामबहादुर बोगटीले बताए ।

खाँडाचक्रले साल्डाँडास्थित पञ्चदेव मावि, पिलिस्थित चुलिमालिका मावि, कालिका मावि, मेघमति प्रावि, जनप्रभात मावि, लिगासैनी माविलगायतमा बालबालिकालाई सिकाइ सामग्री उपलव्ध गराएको नगर शिक्षा शाखा प्रमुख जसीप्रसाद चौलागाईले बताए । ‘घरमा पठनपाठनको वातावरण नभएका र पाठ्यसामग्रीको अभाव भएका बालबालिकाले घरमै सिक्न पाएका छन्,’ उनले भने, ‘विद्यालयमा जान नपाए पनि अहिले उनीहरुलाई धेरै राहत मिलेको छ ।’

कोरोना महामारीका कारण क्वारेन्टाइन बनाइएका रास्कोट नगरपालिकाका सुन्दर आधारभूत, मोतिराम मावि, मालिका आधारभूत, दानपाल्त आधारभूतलगायत ९ विद्यालयका विद्यार्थीले पनि सिकाइ सामग्री पाएका छन् । ‘केही विद्यालयका बालबालिकाले स्थानीय शैक्षिक सामग्रीमार्फत घरमै पाठ्यक्रमअनुसार सिकिरहेका छन्,’ नगर शिक्षा प्रमुख प्रभुलाल न्यौपानेले भने,‘शैक्षिक सामग्री सहयोग गरेपछि विद्यार्थीको सिकाइस्तर बढिरहेको छ ।’ कालीकोटका ९ वटै पालिकाकामा ५६ विद्यालय क्वारेन्टाइनमा प्रयोग भएका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनले विद्यालयलाई क्वारेन्टाइन नबनाउन स्थानीय तहलाई पत्राचार गर्ने तयारी भइरहेको जनाए ।

खाँडाचक्रमा भर्ना सुरु

खाँडाचक्र नगरपालिकाले नगर भित्रका सबै विद्यालयलाई परिपत्र गरेर नयाँ भर्ना गर्न शिक्षक खटाएको छ । सामाजिक दूरी कायम गर्दै माक्स र सेनिटाइजरसहित शिक्षकलाई टोलटोलमा खटाएर विद्यार्थी भर्ना गर्न थालिएको हो ।

कोरोना संकटमा घरमै बसेका बालबालिकालाई पढ्नुपर्छ भन्ने मानसिकता बनाउन टोल–टोलमा शिक्षक पठाउन लागेको नगरपालिकाले जनाएको छ । ताडीस्थित जनजीवन माविले ७ जना शिक्षकलाई विभिन्न टोलमा खटाएर बालबालिकाको अवस्थाबारे जानकारी लिन थालेको प्रधानाध्यापक तेजबहादुर शाहीले बताए ।

प्रकाशित : असार २९, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?