कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ महिनापछि संसदीय समितिले पाए नेतृत्व

चाँदनी कठायत

वीरेन्द्रनगर — गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका ४ वटा संसदीय समितिले नेतृत्व पाएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा बसेका चारवटै समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका हुन् ।

कर्णाली प्रदेशसभाका संसदीय समितिका अध्यक्षलाई सपथ खुवाउँदै सभामुख राजबहादुर शाही ।

बैठकले सार्वजनिक लेखा समितिको अध्यक्षमा यसअघि नेतृत्व गरिरहेका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठलाई नै चयन गरेको छ । यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेकपाका गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिमा नेकपाकै सांसद दानसिं परियार र सामाजिक विकास समितिमा पनि नेकपाकी देवी ओली सर्वसम्मत चयन भएका हुन् ।

प्रदेशसभाको २०७४ चैत २६ गतेको दसौं बैठकले चारवटा समिति गठन गरेको थियो । तर विभिन्‍न कारण देखाउँदै करिब साढे २ वर्षसम्म समितिले नेतृत्व पाउन सकेको थिएन । यसअघि ज्येष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए । ज्येष्ठ सदस्यताका आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिमा अमरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले अध्यक्षता गरेका थिए ।

समितिका चारैजना अध्यक्षले आइतबार नै पद तथा गोपनीयताको सपथ तथा पदभार पनि ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख राजबहादुर शाहीले सपथ खुवाए । चयन भएलगत्तै सांसदहरुले जनताका माझमा धेरै विधेयक छलफल गराइ जनपक्षीय कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक विकास समितिकी अध्यक्ष ओलीले समितिको कार्ययोजना नै बनाएर अब बाँकी रहेको कार्यकालमा उत्कृष्ट काम गर्ने दाबी गरिन् । सरकारको कामको निगरानी गर्ने भन्दै विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष परियारले सरकारलाई लगाम लगाउने काम गर्ने बताए ।

प्राकृतिक स्रोत समितिका अध्यक्ष सिंहले पनि कानुन निर्माण गर्दा जनताका माझमा छलफल गर्ने कामलाई तीव्रता दिइने उल्लेख गरे । सार्वजनिक लेखा समितिका अध्यक्ष श्रेष्ठले आफ्नै नेतृत्वमा अहिलेसम्म प्रभावकारी काम गरेको भन्दै आगामी दिनमा पनि थप निखारताका साथ काम गर्दै सरकारको कामलाई पारदर्शी बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

प्रकाशित : असार २८, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

निष्कासित सांसद गिरीद्वारा सर्वोच्चमा रिट दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले गिरीको रिट दर्ता भएको जानकारी दिए ।

'केन्द्रीय समिति बैठक नबसिकन गरिएको निर्णय मान्य हुँदैन । दलसम्बन्धि कानुनमा केन्द्रीय कमिटीले मात्रै सांसद फिर्ता लिने अधिकार छ । पुनः सुनुवाइको मौका नदिइकन पद खारेज गरिदिएको छ । पार्टी एकीकरण भएर जनता समाजवादी भएको अवस्थामा साविकको समाजवादीको मात्रै सांसद पदबाट निष्कासन गर्न सक्दैन,' गिरीले रिट निवेदनमा लेखेको कुरा उल्लेख गर्दै पौडेलले भने । उनले संविधान संशोधन विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव फिर्ता लिने समय हुँदाहुँदै पनि आफूलाई संसदमा बोल्न नदिएको दाबी गरेकी छन् ।

गिरीले प्रतिनिधिसभा, संघीय संसद सचिवालय, सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, निर्वाचन आयोग, तत्कालिन समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, तत्कालिन समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरिया, समाजवादीको छानबिन कमिटी संयोजक रामसहायप्रसाद यादव, गिरीको सट्टामा सांसद बन्ने समानुपातिक सूचीमा रहेकी लिला सिटौलालाई विपक्षी बनाएकी छन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।

पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् । उक्त संविधान संशोधन विधेयकमा उनले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । त्यस्तै, पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको अवस्थामा उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

त्यसपछि पार्टीले छानबिन समिति गठन गरेर कारबाही गरेको थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : असार २८, २०७७ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×