२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आरोप–प्रत्यारोपले गाउँपालिकाको कामकाज ठप्प

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा अध्यक्ष र कर्मचारीबीच आरोप–प्रत्यारोप चलेपछि कामकाज ठप्प भएको छ । गाउँसभा छोडेर जनप्रतिनिधि र कर्मचारी आरोप–प्रत्यारोपमा लागेका छन् ।

आरोप–प्रत्यारोपले गाउँपालिकाको कामकाज ठप्प

गत आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले निमित्त प्रमुख प्रशासकीय अधिकृत धान्‍ने बुढा र लेखापाल जेठबहादुर बुढाले अनियमितता गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए । बुधबार कर्मचारीहरुका तर्फबाट पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ भने गाउँपालिकामा कार्यरत ६२ जनाले कार्यकारी अधिकृतको बचाउ गर्दै विज्ञप्ति निकालेका छन् । जनप्रतिनिधि– कर्मचारी आरोप प्रत्यारोपकै कारण असार २४ गते तोकिएको गाउँसभा अनिश्चित बनेको छ ।

कर्मचारीले जारी गरेको विज्ञप्तिमा गाउँपालिका अध्यक्षले उपभोक्ता समितिसँग घूस मागेको आरोप लगाइएको छ । अध्यक्ष शाहीले प्रशासनमा पेश गरेको उजुरीमा भने निमित्त प्रमुख कार्यकारी अधिकृत र लेखापाल बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह–तारापानी सडकको ९ लाख २१ हजार रुपैयाँ अनियमितता गरेको उल्लेख छ । कर्मचारीकातर्फबाट परेको उजूरीमा अध्यक्ष शाहीले उपभोक्ता समितिसँग १५ लाख र कोरोना राहत कोषको ३ लाख रुपैयाँ घूस मागेको आरोप लगाइएको छ ।

निमित्त कार्यकारी अधिकृत बुढाले अध्यक्षले गलत आरोप लगाएर फसाउन खोजेको बताए । सबै कर्मचारी प्रमुख कार्यकारी अधिकृत बुढाको बचाउमा सदरमुकाम गमगढी गएपछि कामकाज ठप्प भएको अध्यक्ष शाहीले बताए । ‘कर्मचारीको अनियमितताविरुद्ध उजुरी दिएको हुँ,’ उनले भने, ‘माथिल्ला तहका कर्मचारीको बचाउमा सबै कर्मचारी लागेपछि जनताले सास्ती पाएका छन् ।’

प्रकाशित : असार २४, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?