सुर्खेतमा पीसीआर मेसिन बिग्रिएपछि दैलेखमा चाप

ज्योति कटुवाल

दैलेख — सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर मेसिन बिग्रिएपछि दैलेखमा स्वाब परीक्षणको चाप बढेको छ । सुर्खेतमा थुप्रिएका स्वाब दैलेख पठाइएपछि प्रयोगशालाले अहिले ६ जिल्लाका नमुना परीक्षण गरिरहेको छ । 

सुर्खेतमा पीसीआर मेसिन बिग्रिएपछि दैलेखमा चाप

पूर्वाधार क्षेत्र विकास कोषको रकमबाट नारायण नगरपालिकामा स्थापना गरिएको प्रयोगशालामा अहिलेसम्म ७ सय स्वाब परीक्षण गरिएको छ । दैनिक १ स्वाब परीक्षण भइरहेको जिल्ला स्वास्थ्य सेवा प्रमुख डा. निरञ्जन पन्तले बताए । उनका अनुसार दैलेख र नेपालगन्ज प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एउटै रिपोर्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणलाई मान्यता दिएको थियो ।

अहिले दैलेखसहित जाजरकोट, सल्यान, रुकुम, हुम्ला र सुर्खेतको स्वाब परीक्षण भइरहेको छ । ‘अन्य जिल्लाको स्याम्पल आएसँगै दैलेखमा किट अभाव हुन थालेको छ,’ उनले भने, ‘नियमित किट सप्लाइ नभए भएन परीक्षणमा समस्या आउन सक्छ ।’ ११ दिनदेखि सुर्खेतको मेसिन थन्किँदा परीक्षणको चाप बढेको डा. पन्तले बताए ।

सुर्खेतजत्तिकै स्याम्पल, किट र विज्ञ डाक्टरसहित उपकरण र जनशक्ति नहुँदा परीक्षणमा ढिलाइ भएको जिल्ला स्वास्थ्यसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले ३ जना विज्ञले परीक्षणको काम गरिरहेका छन् । डा. पन्तले ‘प्रोटोकल’ भन्दा पहुँचका आधारमा परीक्षण गर्दा लोड बढेको जनाए । ‘टेस्टको संख्या मात्र बढाएर काम छैन,’ उनले भने ।

७ जनप्रतिनिधि र कर्मचारीमा संक्रमण

नारायण नगरपालिकाका ७ जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाप्रवाहमा समस्या भएको छ । उनीहरुमा २ दिनअघि संक्रमण पुष्टि भएको थियो ।

कर्मचारी अभाव भएपछि असार मसान्तको समयमा विकास निर्माणको रकम भुक्तानीमा समस्या भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिले अन्य प्रशासनिक कामको चापसमेत बढेको छ । नारायण नगरपालिकामा अहिलेसम्म २ सय ४० जना संक्रमित देखिएका छन् । त्यसमध्ये २ सय २३ जना डिस्चार्ज भएर घर गएको नगरपालिकाले जनाएको छ । जिल्लाभरि ७ सय ८१ जना संक्रमित भएकोमा ७ सय ३ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्यसेवा कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २२, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?