सल्ली–चौरजहारी सडक सातादेखि अवरुद्ध

विप्लव महर्जन

सल्यान — वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा सल्लीबजार–चौरजहारी सडक सातादेखि अवरुद्ध छ । गाडी नचलेपछि स्थानीय हिँडेर आउजाउ गर्न बाध्य छन् ।

अविरल वर्षातका कारण सल्लीबजार चौरजहारी सडक खण्डमा गएको पहिरो । तस्बिर : विप्लव महर्जन

प्रत्येक वर्ष सडकमा करोडौं रकम विनियोजन गरे पनि राम्रो काम नभएकाले बन्गाड कुपिन्डे नगरपालिका, कुमाख, सिद्धकुमाख गाउँपालिका र रुकुम पश्चिमका सर्वसाधारण प्रभावित छन् ।

ठाडो खोलाबाट आएको भलले सडक चिराचिरा पारेको, ठाउँठाउँमा भासिएकाले हिँडेर आउजाउ गर्न कठिनाइ भएको कुमाख गाउँपालिकाका देवेन्द्र रावतले बताए । रुकुम–पश्चिमको चौरजहारीमा सडक डिभिजन कार्यालय भए पनि मर्मतबारे कुनै चासो नदेखाएको उनले जानकारी गराए ।

सडकमा नाला नभएकाले ठाउँठाउँमा चिरा पारेका, पहिरो गएको र ठाडो खोलाले बगाएको ढुंगामाटो थुपारेकाले हिँडेर आउजाउ गर्न कठिनाइ हुने गरेको स्यानिपिप्लीका नेवबहादुर रोकाले बताए । मालवाहक गाडी आउन नसक्दा उपभोग्य सामग्री ढुवानी गर्न कठिनाइ भएको उनले जानकारी गराए । ‘त्यत्ति मात्र नभई कोही बिरामी परे स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था छ,’ उनले भने ।

सल्लीबजार–चौरजहारी सडकको ट्र्याक खोलेको दुई दशक बित्न लागिसक्दा पनि सम्बन्धित निकायले कम चासो देखाएको र ठेकेदारले पनि बजेटअनुसार काम नगर्दा स्थानीयले वर्षैपिच्छे वर्षातको समयमा सास्ती भोग्दै आएको नन्दराम खड्काले बताए । ‘कर्णाली प्रदेश सरकारले सल्लीबजार–चौरजहारी सडक बाह्रै महिना सञ्चालन गर्न बजेट विनियोजन गरे पनि काम हुन सकेको छैन,’ उनले भने, ‘पहुँचका आधारमा बजेट अन्तै पुगेको सुन्नमा आएको छ ।’

प्रकाशित : असार २२, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

‘गर्भवती र सुत्केरीलाई विशेष ध्यान दिनुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ डा. संगीता कौशल मिश्राले कोसी अस्पतालको नेतृत्वमा रहेर कोरोना व्यवस्थापनमा उल्लेखनीय काम गरेकी थिइन् । उनी हालै सरुवा भएर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकका रूपमा काठमाडौं आएकी छन् ।


गर्भवती, सुत्केरी र शिशुलाई कोरोना संक्रमणबाट जोगाउने लगायतका विषयमा डा. मिश्रासँग कान्तिपुरका अतुल मिश्रले गरेको कुराकानीको सम्पादित अंश :

कोसी अस्पतालमा रहेका बेला कोरोना संक्रमण रोकथाममा तपाईंले कसरी व्यवस्थापन गर्नुभयो ?

हामी कोरोनाको विषयमा २०७६ चैत ६ गते नै प्रदेश सरकारसँग मिलेर व्यापक छलफल गरेको थियौं । कोसी अस्पतालले कोभिड–१९ व्यवस्थापनका लागि के गर्ने भनेर फागुन २० गते तयारी थालेका थियौं । हामीले अस्पतालका विभागीय प्रमुखहरूको बैठक पनि गरेका थियौं । त्यति बेला कोभिड–१९ बारे कुनै खास सरकारी निर्देशन आएको थिएन । बजारमा एक्कासि सेनिटाइजर, मास्क, पीपीई आदिको अभाव भयो । कोसी अस्पतालले आफैं सेनिटाइजर र मास्क उत्पादन गर्‍यो । हामीले स्वास्थ्यकर्मीलाई सम्भावित संक्रमणबाट जोगाउन रेनकोटको कपडाले पीपीई (व्यक्तिगत सुरक्षा उपकरण) समेत बनायौं । फागुन २६–२७ तिर आइसोलेसनको बेड बनाउने कुरा भयो । अस्पताल आउनेहरूको गेटमै टेम्परेचर स्क्यानिङ (शरीरको तापक्रम नाप्ने) कुरासमेत भयो । कोसी आफैं सेनिटाइजर र मास्क उत्पादन गर्ने र टेम्परेचर स्क्यानिङ गर्ने पहिलो सरकारी अस्पताल हो ।

आइसोलेसन वार्ड चैत ५ गतेसम्ममा प्रदेश सरकारको सहयोगले बनिसकेको थियो । आइसोलेसन वार्डमा चैत ६ गते कोरोनाका शंकास्पद केसको पहिलो भर्ना लिएका थियौं । यो सबै गर्दा हामीले निर्देशन कुरेनौं । हामीले कोरोना संक्रमित व्यवस्थापनका लागि सबै पक्षसँग छलफल र वार्ता मात्र नभएर सहकार्यसमेत सुरु गरिसकेका थियौं । सुरुवातीताका हामीसँग त्यति पैसा थिएन । पछि ज्वरो क्लिनिक सञ्चालन गर्न केन्द्र सरकारले १० लाख पठाएको थियो । हामीले नगरपालिका, प्रदेश सरकार, स्थानीय दातासँग भएका फन्ड उपयोग गर्न सबैसँग समन्वय गर्‍यौं ।

प्रदेश सरकारसँग छलफल गर्दा कोभिड र गैरकोभिड बिरामीलाई छुट्याउने निष्कर्षमा पुग्यौं । त्यसपछि प्रदेश सरकारलाई भरोसा दिलाएर पाँच बिघामा रहेको एउटा भवनमा छुट्टै अस्पताल बनायौं । भौतिक योजना, अर्थ, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालयसँग मिलेर १० दिनमै अस्पताल तयार भयो । हामी नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउँथ्यौं । पछि बीपीकेआईएचएस धरानलाई प्रयोगशाला सञ्चालन गर्ने स्वीकृति दिइयो । स्वास्थ्य मन्त्रालयले हामीसँग भएको एउटा पीसीआर मेसिन धरानलाई दिन भन्यो । हामीले कोसीमा पीसीआर परीक्षण गरौं, हामी सक्छौं भन्यौं । मन्त्रीज्यूलाई कन्भिन्स गरें । परीक्षण हुन सक्छ/सक्दैन भनेर हेर्न एक जना प्राविधिक पठाइयो । त्यसपछि पीसीआर परीक्षण सेवा सुरु गर्‍यो ।

उदयपुरको नमुनामा १२ वटा कोरोना पोजिटिभ देखियो भनेर मलाई राति १२ प्रयोगशालाबाट फोन आयो । म पनि हडबडाएँ । त्यो समयमा पोजिटिभ आउँदा पहिला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन: परीक्षण गराएर मात्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम थियो । मैले राति १ बजे जसरी तसरी एउटा गाडी खोजेर नमुना काठमाडौं पठाएँ । भरे राति ७ बजे जनस्वास्थ्य प्रयोगशालाले पोजिटिभ भएको कन्फर्म गर्‍यो । १२ वटा पोजिटिभ आउँदा धेरै हंगामा भयो । बिरामी राति करिब १ बजे विराटनगर ल्याइयो । वैशाख ५ मा हामीले १२ जना संक्रमितलाई भर्ना लियौं । पहिलो दिन त सबैलाई डर लागेको थियो । म आफै गएर सबैसँग कुरा गरें ।

डाक्टरहरूलाई कसरी परिचालन गर्नुहुन्थ्यो ?

हाम्रा लागि जनशक्ति सबैभन्दा ठूलो चुनौती थियो । कोभिड–१९ संक्रमितको उपचार गर्न सुरुमा कोही डाक्टर तयार थिएनन् । डाक्टरको बैठक बोलाएर मैले दुईवटा कुरा भनें । ‘पहिलो, हामीले उपचार गर्नैपर्छ, हामीसँग विकल्प छैन । दोस्रो, अहिलेसम्म हामीलाई कोभिड–१९ आफूलाई हुँदैन, बाहिरको मान्छेलाई हुन्छ भन्ने लाग्छ । म कोभिड पोजिटिभ भएँ भने मेरो उपचार गर्ने कि न गर्ने ? आफ्ना लागि पनि त संरचना बनाउनुपर्‍यो । आज हामीले उपचार गरेनौं भने पनि भोलि सरकारले काममा लगाउँछ । मोटिभेट (प्रेरित) गर्दै जाँदा ८–१० जना साथी सुरुदेखि नै लागे । पछि अरू पनि थपिँदै गए । हामी सबैको प्रयासले सफलता पायौं । अर्को कुरा कोसीको मेडिकल सुपरिन्टेन्डेन्ट म महिला, इमर्जेन्सीको इन्चार्ज सन्ध्या ज्ञवाली पनि महिला, ल्याबको इन्चार्ज कामना शर्मा पनि महिला थियौं । यो स्थितिले पनि ऊर्जा दियो । पछि विस्तारै कोसी अस्पतालले राम्रो गर्न थाल्यो भन्ने कुरा आउन थाल्दा हामी सबै उत्साहित भयौं ।

सबै अस्पतालको बहिरंग वा आन्तरिक सेवा बन्द भयो, कोसी मात्र एउटा अस्पताल हो, जसको एक दिन पनि बहिरंग वा अन्तरंग सेवा बन्द भएन । कोभिड र ननकोभिड स्वास्थ्य सेवा दुवैलाई समानान्तर रूपमै लग्यौं ।

केन्द्रीय प्रसूतिगृहमा निर्देशकको जिम्मेवारी पाइसकेपछि के कस्ता रणनीति बनाउँदै हुनुहुन्छ ?

यहाँ सबैभन्दा पहिले कोभिड युनिट स्थापना गर्नुपर्नेछ । यहाँ धेरै डेलिभरी हुन्छ । को कोभिड, को ननकोभिड बिरामी हुन्, भन्न सकिन्न । यसमा केही काम भएको थियो तर पर्याप्त थिएन । कोभिड पोजिटिभ महिलाको डेलिभरी कसरी हुन्छ, त्यसतर्फ काम गर्नुपर्छ । अर्को, अस्पताललाई सामान्य अवस्थातर्फ लिएर जानुपर्छ । केही महिनायता लकडाउन, महिलाको पहुँच आदिले यहाँ केही सेवा कम चलिरहेको थियो ।

गुणस्तरीय सेवा कसरी दिने, शिक्षण र सिकाइ प्रक्रिया कसरी दिनेबारे पनि हामी काम गरिरहेका छौं । अब थापाथलीमा मात्र प्रसूतिगृह राखेर बाँकी ठाउँमा सेवा नदिने हुँदैन । प्रसुतिगृहअन्तर्गत अतिरिक्त बर्थिङ युनिट राख्नुपर्छ । हाम्रो भैंसेपाटी, नख्खुमा ओपीडी चल्छ, त्यहाँ एउटा बर्थिङ युनिट राख्ने सोच बनाइरहेका छौं । प्रसूतिगृहमा इन्फर्टिलिटीको केन्द्र बनाउँछौं । यो आफैंमा एउटा महँगो उपचार प्रक्रिया हो । यसलाई कति सर्वसुलभ बनाउन सकिन्छ, त्यो खोज्दै छौं ।

सुत्केरी महिला र शिशुलाई कोरोनाबाट कसरी जोगाउने ?

कुनै सामान्य महिलालाई कोभिडबाट कुनै अतिरिक्त जोखिम छैन । तर हार्मोन परिवर्तनले गर्भावस्थामा रोग प्रतिरोधक क्षमतामा कमी आउँछ । त्यसैले गर्भवती र सुत्केरीलाई विशेष ध्यान राख्नुपर्छ । गर्भवती, सुत्केरी अन्य व्यक्तिको सम्पर्कबाट जोगिनुपर्छ । नियमित साबुनपानीले हात धुने, दुई मिटरको दूरी कायम गर्ने जस्ता प्रक्रिया अपनाउनुपर्छ ।

महिलालाई कोभिड भए पनि गर्भमा भएको शिशुमा असर नपर्ने अध्ययनहरूले देखाएका छन् । जन्मपछि पनि असर पर्दैन । संक्रमित महिलाले स्तनपान गराउँदा शिशुलाई कोरोना सर्दैन । महिलामा ‘भाइरल लोड’ (भाइरसको मात्रा) धेरै बढी छ भने मास्क लगाएर स्तनपान गराउन सकिन्छ । संक्रमित महिला शिशुलाई संक्रमण होला भने अत्यन्त डराउने भए आफ्नो दूध कचौरामा निकालेर शिशुलाई सेवन गराउन सक्छिन् ।

सामान्य महिला र संक्रमित महिलामा कुनै अन्तर छैन । गर्भवती अवस्थामा प्रतिरोधक क्षमता कम हुने भएकाले मात्र संक्रमणको जटिलताको जोखिम हुने सम्भावना हुन्छ । प्रसूतिगृहमा समेत हामी कोरोना बचाउको सामान्य प्रक्रिया सामाजिक दूरी, हातको सफाइ आदिमा बढी ध्यान दिन्छौं । कोरोनाको हटस्पट क्षेत्रबाट आउने, परिवारमा कसैलाई कोरोना भएको, ज्वरो वा श्वासप्रश्वाससम्बन्धी समस्याको इतिहाससहित आएका महिलालाई उच्च जोखिममा पर्ने समूह अन्तर्गत छुट्टै आइसोलेसनमा राख्ने गरेका छौं । प्रसूतिगृहमा तत्कालका लागि कोभिड पोजिटिभ वार्ड कुपन्डोलमा छ । पीसीआर परीक्षण ल्याब स्थापनाका लागि स्वास्थ्य मन्त्रालयमा पहल गरिसकेका छौं । पीसीआर परीक्षण गर्न पठाउँदा नतिजा ढिलो आउने समस्या छ ।

प्रकाशित : असार २२, २०७७ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×