पीसीआर मेसिन नबनाउँदा सुर्खेतमा परीक्षण ठप्प

आपूर्तिकर्ता कम्पनीले बिग्रिएको मेसिन बनाउन चासो नदिँदा १० दिनदेखि प्रदेश राजधानीमै कोरोना परीक्षण ठप्प छ
कलेन्द्र सेजुवाल

सुर्खेत — बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता छ ।

मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रालिलाई यसबारे समयमै जानकारी गराइए पनि बेवास्ता गरिएको त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख डा. मेघराज बन्जाराले जानकारी दिए । ‘कम्पनीका प्राविधिकले यतै (काठमाडौं) बाट फोनमा सोधपुछ गरेर के भइरहेको छ भन्ने बुझिरहेका रहेछन्, यसरी त मेसिन कहाँ बन्छ ?,’ डा. बन्जाराले भने, ‘हामीले कम्पनीलाई इन्जिनियर छिटो पठाऊ भनेर ताकेता गरिरहेका छौं, तर अहिलेसम्म गएका छैनन् ।’

उक्त मेसिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट खरिद मूल्यभन्दा साढे ६ लाख रुपैयाँ महँगोमा किनेर चौधरी ग्रुपले कर्णाली सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । डा. बन्जाराका अनुसार २०७६ पुसमा हेलिक्स इन्टरप्राइजेजमार्फत भ्याटसहित २१ लाख ५६ हजार रुपैयाँमा मेसिन खरिद गरिएको हो । उक्त मेसिन वैशाख दोस्रो साता चौधरी ग्रुप (नबिल बैंक) ले भ्याटसहित २८ लाखमा किनेर प्रादेशिक अस्पताल पठाएको थियो । ‘हामीले मेसिन किन्दा डलरको भाउ कम भएकोले सस्तो परेको थियो, बेच्ने बेलामा भने डलरको भाउ महँगियो,’ उनले भने, ‘मेसिन बेचेर नयाँ ल्याउनुपर्ने भएकोले अहिलेकै दररेटमा बेचिएको हो ।’ ६ महिनाअघि ल्याइए पनि परीक्षण गरेरमात्र राखिएको उनको दाबी छ ।

कम्पनीले मेसिन खरिद गरिएको न्यूनतम १ वर्षसम्म कुनै खराबी आएमा मर्मत गर्ने ‘वारेन्टी’ दिएको छ । आपूर्ति गर्ने कम्पनी हेलिक्सले भने अहिलेसम्म मेसिन बनाउन बेवास्ता गरिरहेको छ । हेलिक्स इन्टरप्राइजेजका प्रतिनिधि फिरोज अहमदले मेसिनको सफ्टवेयर प्रणालीमा कुनै समस्या नरहेको र हार्डवेयरमा समस्या हुनसक्ने बताए । मेसिन हेर्ने इन्जिनियर भारतबाट बोलाउनुपर्ने भएकोले केही ढिलो भएको उनको भनाइ छ । ‘हामीले नेपालमा बायोराडकै करिब एक दर्जन मेसिन ल्याएका छौं, अहिलेसम्म अरुमा यस्तोखाले समस्या आएको छैन,’ उनले भने, ‘सुर्खेतको मेसिन कसरी बिग्रियो भन्ने त इन्जिनियरले हेरेपछि मात्र थाहा होला ।’

उक्त मेसिनबाट एक पटकमा ९६ वटा स्वाबका नमुना परीक्षण गर्न सकिन्छ । मेसिन आपूर्ति गर्ने कम्पनीलाई जति फोन गर्दा पनि आज–भोलि भन्दै टारिरहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार अहिले सुर्खेतको प्रयोगशालामा आएका नमुना ‘प्रोसेसिङ’ गरेर ‘रिडिङ’ को लागि नेपालगन्ज पठाउने गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारको समन्वयमा चौधरी ग्रुपले मेसिन किनेर सहयोग गरेको बताए । उनका अनुसार कर्णालीमा पीसीआर परीक्षणको चाप बढिरहेको बेला टेन्डर गरेर खरिद गर्दा ढिलो हुने भएपछि सहयोगको लागि आग्रह गरिएको थियो । ‘हामीले नै त्रिभुवन विश्वविद्यालयमा रहेको मेसिन खरिदको लागि समन्वय गरेका थियौं,’ उनले भने, ‘मेसिन त छिटोछरितो आयो, तर अहिले बिग्रिएपछि समस्या भएको छ ।’

नयाँ मेसिन पनि उही कम्पनीकै

प्रदेश राजधानीमै परीक्षण कार्य रोकिएपछि कर्णाली प्रदेश अस्पतालले नयाँ मेसिन ल्याउने भएको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार सोमबार सुर्खेत आइपुग्ने मेसिन पनि बायोराड कम्पनीकै हो । आपूर्तिकर्ता पनि हेलिक्स इन्टरप्राइजेज प्रालि हो । अस्पतालले गरेको टेन्डरमा हेलिक्सले भ्याटका अतिरिक्त २४ लाख रुपैयाँमा खरिद गरेर ल्याएको डा. खड्काले बताए । ‘संयोगवश नयाँ आउने मेसिन पनि सोही कम्पनीलाई टेन्डर परेको रहेछ,’ उनले भने, ‘नयाँ मेसिन जडान गर्दा पुरानो मेसिनमा के समस्या छ भन्नेबारे पनि हेर्लान् ।’

प्रकाशित : असार २१, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

गलवान झडपमाथि अजय देवगनले फिल्म बनाउने 

एजेन्सी

पछिल्लो समयमा बलिउडमा राष्ट्रवादी फिल्महरुले राम्रो व्यापार गर्न थालेपछि निर्माता तथा अभिनेताहरुको ध्यान यसैतिर तानिएको छ । खासगरी बलिउडका दुई सुपरस्टार अजय देवगन र अक्षय कुमार यस्ता फिल्मको निर्माणमा जोडतोडले लागेका छन् ।

हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ ।

'भुज' नामक भारतीय सेनाकै विषयको फिल्मपछि अजय देवगनले यो हिंसात्मक झडपलाई लिएर फिल्म बनाउने घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

अभिनेता देवगनले पछिल्लो समय वीरता र शक्ति प्रस्तुत गर्ने चरित्रमा अभियन गर्दै आएका छन् । यसै वर्ष आएको उनको 'तानाजी'ले निकै राम्रो व्यापार गरेको थियो । फिल्मका बाँकी कलाकारबारे बताइएको छैन ।

प्रकाशित : असार २१, २०७७ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×