अवैध सम्बन्ध राखेको भन्दै वडाध्यक्षलाई कारबाही माग

विप्लव महर्जन

सल्यान — वडाध्यक्षले कार्यालयको क्वार्टरमा अवैध यौनसम्बन्ध राखेको भन्दै त्रिवेणी गाउँपालिका–४ फलाबाङका स्थानीय कारबाहीको माग राखी प्रदर्शमा उत्रिएका छन् । उनीहरूले आइतबार गाउँपालिका कार्यालय र लुहाम बजारमा विरोध प्रदर्शन गरे ।

अवैध सम्बन्ध राखेको भन्दै वडाध्यक्षलाई कारबाही माग

४ नम्बर वडाध्यक्ष छविराज शर्माले गत बुधबार राति क्वार्टरमा अनैतिक सम्बन्ध राखेको उनीहरूको दाबी छ । उनीहरूले राति नै वडा कार्यालय घेरा हाली शर्मालाई प्रहरीको जिम्मा लगाउनुका साथै कार्यालयको गेटमा तालाबन्दी गरिदिएका थिए । तर, प्रहरीले कारबाहीको साटो उल्टै छाडिदिएको स्थानीयको आरोप छ ।

वडा सदस्य सीता बिष्टले वडाध्यक्षले गलत कार्य गरे/नगरेको छानबिन गर्न आग्रह गर्दा बेवास्ता गरिएकाले दबाबका लागि प्रदर्शन गर्नुपरेको बताइन् । प्रहरी र पालिका मिलेर घटना गुपचुप बनाउने प्रयास भएको भन्दै उनले आपत्ति जनाइन् ।

उनले बुधबार राति युवाहरूले अनैतिक कार्य गरेको भन्दै वडाध्यक्षलाई एउटा कोठामा थुनेर राखेको फोनमार्फत जानकारी पाएको बताइन् । त्यही बेला कार्यालयको क्वार्टरमा गएर हेर्दा एक महिला तन्नाले छोपिएर खाटमा बसिरहेको अवस्थामा फेला परेको उनले सुनाइन् ।

वडाध्यक्ष शर्माले भने ती महिला कार्यालयको कामको सिलसिलामा आएको र आफूले कुनै अनैतिक कार्य नगरे पनि फसाउन खोजिएको बताएका छन् । युवाहरूले कार्यालय तोडफोड गरेपछि प्रहरीलाई फोन गरेर बोलाएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक जगतबहादुर नेपालीले स्थानीयले दिएको जाहेरीमा अनुसन्धान भइरहेको बताएका छन । उनका अनुसार वडाध्यक्षले रातिको समयमा कार्यालयमा स्थानीय युवाले तोडफोड गरेको भन्दै फोन गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । ‘कार्यालयको गेटमा ताला लगाइएको थियो । क्वार्टरको कोठामा अध्यक्षलगायत थप पाँच जना पुरुष थिए । एक महिला थिइन्,’ उनले भने, ‘अनैतिक कार्य गरेको पुष्टि भइसकेको छैन ।’

प्रकाशित : असार २१, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?