सल्यानका क्वारेन्टाइनमा बसेका ७८ जना भागे
सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका दुईवटा क्वारेन्टाइनबाट ७८ जना भागेका छन् । पीसीआर रिपोर्ट आउन ढिलाइ भएको भन्दै आधारभूत विद्यालय, लाहाघाटबाट ७१ र भानुभक्त प्रावि, खनियाखर्कबाट ६ जना भागेका हुन् ।
भारतको गढुवाल र गुरजातबाट आएका नागरिकलाई ती क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका ३ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि असार १२ गते ७४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको नगरपालिकाले जनाएको छ ।
रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकाहरु भागेपछि गाउँमा संक्रमणको जोखिम बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘सुर्खेतमा मेसिन बिग्रिएपछि स्वाब परीक्षणका लागि नेपालगन्ज पठाइएको जानकारी आएको छ,’ उनले भने, ‘धेरै चाप भएकाले परीक्षण गर्न समय लागेको देखियो ।’
उनका अनुसार यसअघि क्वारेन्टाइनबाट भागेका १ जनालाई प्रहरीको सहयोगमा फिर्ता ल्याएर आइसोलेसनमा भर्ना गरिएको थियो ।
प्रकाशित : असार १९, २०७७ १८:१२