२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रारा साइकल मार्गको ३ करोड बजेट फ्रिज 

राजबहादुर शाही

मुगु — रारा तालवरिपरि साइकल मार्ग बनाउन कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ३ करोड रुपैयाँ फ्रिज हुने भएको छ । डिभिजन वन कार्यालयले समयमै काम अगाडि बढाउन नसक्दा बजेट फ्रिज हुने निश्चित भएको हो । 

रारा साइकल मार्गको ३ करोड बजेट फ्रिज 

पर्यटकको सुविधाका लागि राराताल वरिपरि १४ किलोमिटर साइकल मार्ग निर्माण गर्ने निर्णय गरिएको थियो । गत आर्थिक वर्षमा पनि साइकल मार्ग निर्माणका लागि विनियोजन गरिएको ३ करोड रुपैयाँ फ्रिज गएको थियो । वर्षेनि रकम छुट्याइए पनि सरकारी लापरवाहीले बजेट फिर्ता जान थालेको पर्यटन व्यवसायी विर्खबहादुर रोकायाले बताए । ‘यसअघि पनि पूर्वाधार विकासको करोडौं रुपैयाँ फिर्ता गएको थियो,’ उनले भने, ‘सरकारले राराको विकासका लागि बजेट नै दिँदैन, दिए पनि काम नगरी फिर्ता जान्छ ।’ पूर्वाधार अभावका कारण रारामा पर्यटकको आकर्षण बढ्न नसकेको उनको गुनासो छ । सरकारी बेवास्ताका कारण रारामा विद्युत् पुर्‍याउने ३ वर्षअघिको योजना पनि अलपत्र परेको उनको भनाइ छ ।

राराको विकासका लागि ३ वटै सरकारले बेवास्ता गरिरहेको स्थानीय लाई आकर्षिकमल रोकायाले बताए । ‘सामान्य पूर्वाधारको मात्र विकास गर्न सके रारा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्छ,’ उनले भने, ‘सरकारले बजेट दिन कञ्जुस्याइँ गर्दा पर्यटकत गर्न सकिएको छैन ।’ सरकारले बनाएको डीपीआर र पूर्वाधार विकास योजना कार्यान्वयन नहुँदा रारा आउने पर्यटकले सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।

यस वर्ष लकडाउनका कारण बजेट खर्च गर्न समस्या भएको डिभिजन वन प्रमुख भरतबहादुर बुढथापाले बताए । ‘रारा साइकल मार्गको बजेट वहुवर्षीय हो,’ उनले भने, ‘असार मसान्तको बेला काम नगर्नु भन्दै वन तथा वातावरण मन्त्रालयले परिपत्र गरेपछि यस वर्षको बजेट पनि फिर्ता जाने निश्चित भएको हो ।’ उनका अनुसार रारा साइकल मार्गका लागि ४२ करोड रुपैयाँको डीपीआर निर्माण भएको छ । रारा राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर मात्र राराताल क्षेत्रमा पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले पनि केही समस्या देखिएको उनी बताउँछन् ।

प्रकाशित : असार १७, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?