२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मेसिन बिग्रिँदा ८ सय स्वाब थन्किए

कलेन्द्र सेजुवाल

सुर्खेत — सुर्खेतमा रहेको आरटी–पीसीआर मेसिन बिग्रिएपछि ५ दिनदेखि कोरोना परीक्षण रोकिएको छ । यसले गर्दा विभिन्न जिल्लाबाट संकलन गरेर ल्याइएका करिब ८ सय स्वाबका नमुना प्रयोगशालामै थन्किएका छन् ।

मेसिन बिग्रिँदा ८ सय स्वाब थन्किए

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिमबाट संकलन गरेर ल्याइएका स्वाबका नमुना प्रयोगशालाको फ्रिजमा राखिएका छन् । माइनस ८० डिग्री सेल्सियसको तापक्रममा राखिएको उनले बताए । ‘तापक्रम मिलाएर राखेपछि ५–६ महिनासम्म पनि परीक्षण गर्न सकिन्छ,’ उनले भने ‘तर कोरोनाको जोखिम बढेको बेला जतिसक्दो छिटो परीक्षण गरेर रिपोर्ट दियो उति राम्रो हुन्थ्यो ।’

कर्णाली प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयको ल्याबमा रहेको आरटी–पीसीआर मेसिन खरिद गरी वैशाख दोस्रो साताबाट परीक्षण थालेको थियो । एक पटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्ने क्षमता भए पनि मेसिन ‘फूलफेज’ मा चलेको थिएन । क्षमताको करिब आधा संख्यामा परीक्षण हुँदै आएको थियो । संघीय सरकारले चैतमा पठाएको कम क्षमताको मेसिन पनि वैशाख दोस्रो सातादेखि बन्द अवस्थामा रहेको छ । सोमबार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीसहित स्वास्थ्य अधिकारीलाई मेसिन यथाशक्य सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले सुर्खेतको मेसिन बिग्रिए पनि केही नमुनाहरु ‘आरएनए एक्स्ट्राक्सन’ (परीक्षणको लागि आवश्यक प्रक्रिया पूरा) गरेर नेपालगन्ज पठाउने काम भइरहेको बताइन् । ‘यहाँको मेसिनमा मात्र काम रोकिएको हो, परीक्षण भने रोकिएको छैन,’ उनले भनिन्, ‘हामीले यहिँको प्रयोगशालामा प्रोसेसिङ गरेर ‘रिडिङ’ को लागि मात्र पठाइरहेका छौं, यसले नतिजा छिटो आउन सक्छ ।’ मंगलबारमात्र नेपालगन्जको प्रयोगशालामा पठाइएका नमुनामध्ये ४ वटाको नतिजा पोजिटिभ आएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो मेसिन भए पनि चाप अधिक हुँदा प्रदेश बाहिरको प्रयोगशालामा पठाउनु परेको हो । प्रतिष्ठानको प्रयोगशालामा पनि मंगलबारसम्म करिब ८ सय स्वाब ‘पेन्डिङ’ मा रहेका प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । ‘सुर्खेतमा मेसिन बिग्रिएपछि केही स्वाबहरु यता पठाउने कि भन्नेबारे कुरा भइरहेको छ, तर यहाँ पहिलेकै नमुना थन्किरहेका छन्,’ उनले भने, ‘जतिसक्दो छिटो परीक्षण गर्ने प्रयास गरिरहेका छौं ।

कर्णालीमा मंगलबारसम्म १ हजार ४ सय ४३ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा बढी दैलेखका ७ सय ६०, सुर्खेतका ३ सय ४७ र सल्यानका १ सय ७७ जना रहेका छन् । यी तीनवटै जिल्लाका नमुनाहरु सुर्खेतको प्रयोगशालामा परीक्षण हुने गरेका छन् । यसले गर्दा पनि सुर्खेतको मेसिन बिग्रिँदा कोरोना पहिचान र प्रतिकार्यको काम प्रभावित भएको छ ।

दैलेखमा सोमबारदेखि परीक्षण सुरु भए पनि ‘क्रस भेरिफिकेसन’ को लागि नमुना नेपालगन्जस्थित प्रयोगशालामा पठाउनुपर्ने भएकोले परीक्षणले गति लिन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निरन्जन पन्तका अनुसार पहिलो दिन ४० नमुना परीक्षण भएकोमा पुनः परीक्षणको लागि स्वाबको नमुना नेपालगन्ज पठाइएका छन् ।

मंगलबार पनि सोही संख्यामा नमुना परीक्षण भइरहेको उनले बताए । ‘हामीले संख्यात्मक रुपमा धेरै परीक्षण गर्ने भन्दा पनि गर्नैपर्ने केसको मात्र पीसीआर परीक्षण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘सुरुमा क्रस भेरिफिकेसनको लागि नेपालगन्ज पठाउनु परे पनि केही दिनमा यहिँबाट नतिजा पुष्टि गरिनेछ ।’

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि मेसिन खरिद गरी ल्याएको छ । मंगलबारदेखि जडानको काम भइरहेको र संभवतः शुक्रबारदेखि परीक्षण सुरु हुने नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार चौरजहारीमा परीक्षण सुरु भएमा रुकुमका साथै सल्यान, जाजरकोट, सुर्खेतका पूर्वी क्षेत्र र डोल्पाका केही क्षेत्रका स्वाब परीक्षण गर्न सकिनेछ ।

कर्णालीमा मंगलबारसम्म २९ हजार १ सय ७ जनाको स्वाब परीक्षण भएको छ । कोरोना पुष्टि भएका १ हजार ४ सय ४३ जनामध्ये १ हजार ७२ जना निको भएर आइसोलेसनबाट घर फर्केका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णालीका आइसोलेसनमा कोरोना ‘एक्टिभ केस’ को संख्या ३ सय ६५ मात्र रहेको छ । कोरोना पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार १६, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?