१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दैलेखमा क्वारेन्टाइनबाट भाग्दै संक्रमित

ज्योति कटुवाल

दैलेख — १७ दिनसम्म पनि थप परीक्षण नभएपछि नौमुले गाउँपालिका–६ का वीरेन्द्र सिन्जालीमगर स्थानीय भैरव माविको क्वारेन्टाइनबाट भागे । पीसीआर परीक्षणमा कोरोना पुष्टि भएका उनी घरै पुगेका छन् ।

दैलेखमा क्वारेन्टाइनबाट भाग्दै संक्रमित

उनी मात्र होइन, भारतबाट फर्किएका अन्य २० व्यक्ति पनि क्वारेन्टाइनबाट भागेका छन् । ‘सुरुमा आरडीटी र पीसीआर दुवै रिपोर्ट पोजिटिभ आएको थियो,’ सिन्जालीमगरले भने, ‘न हामीमा लक्षण देखियो, न दोस्रोपल्ट परीक्षण भयो ।’ क्वारेन्टाइनमा लामो समय राखिए पनि पुनः परीक्षण नभएको र स्वास्थ्यकर्मीले उपचारमा चासो नदेखाएको उनले गुनासो गरे ।

गाउँपालिकाले संक्रमण पुष्टि भएका र अन्यलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने गरेको छ । अहिले भैरव माविको क्वारेन्टाइनमा बसाइएका २ महिलासहित ९२ जनालाई घर पठाइएको छ । ‘क्वारेन्टाइनमा राखेर मात्रै रोग निको हुने हो र ?,’ सिन्जालीमगरले भने, ‘त्यहाँ बस्नुभन्दा घरमै ठिक होला भनेर भागेका हौं ।’ गाउँपालिकामा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाइनमा लापरबाही हुँदा संक्रमण फैलिएको अर्का संक्रमित श्याम रानाले गुनासो गरे । ‘पीसीआर पोजिटिभ आएको १७ दिनपछि जाँच नगरीकनै घर पठाइयो,’ उनले भने, ‘स्थानीय सरकारकै लापरबाहीले गाउँभरि कोरोना फैलिने खतरा छ ।’ उनले संक्रमण बढ्न नदिन सावधानीसहित होम क्वारेन्टाइनमा बसिरहेको जनाए ।

नौमूलेमा ७ सय १ जना भारतबाट आए पनि ६ सय १ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । १ सय जनाको अवस्था सामान्य भएकाले क्वारेन्टाइनमा नराखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । उनका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आए पनि १४ दिन काटिसकेकालाई डिस्चार्ज गरिएको थियो ।

संक्रमित भागेर गाउँ पसेपछि सन्त्रास बढेको गाउँपालिका अध्यक्ष भदे बुढामगरले बताए । ‘भागेका र डिस्जार्च गरिएकालाई होम क्वारेन्टाइनमा सजग भएर बस्न सुझाव दिएका छौं,’ उनले भने, ‘गाउँगाउँमा संक्रमित छिरे भन्ने फोन आउँछ, व्यवस्थापन गर्नै समस्या भयो ।’

दैलेखका विभिन्न क्वारेन्टाइनमा बसिरहेका ८ सय ५१ मध्ये ७ सय ६५ जना संक्रमित छन् । भारतबाट आएका १३ हजार ५ सय ३४ जना क्वारेन्टाइनमा बसेर घर फर्किएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘जिल्लामै पीसीआर मेसिन जडान भइसकेकाले अब परीक्षण प्रभावकारी हुन्छ,’ उनले भने, ‘आगामी दिनमा परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएकालाई मात्र घर पठाउँछौं ।’

प्रकाशित : असार १५, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?