चौरी स्रोत केन्द्र स्थापनाका लागि आएको १ करोड फ्रिज

छपाल लामा

हुम्ला — चौरी स्रोत केन्द्र स्थापनाका लागि पशु सेवा कार्यालयमा आएको १ करोड रुपैयाँ फ्रिज भएको छ । लकडाउनका कारण चौरी खरिद गर्न समस्या भएपछि बजेट फ्रिज गएको हो ।

चौरीपालनको राम्रो सम्भावना भएको भन्दै प्रदेश सरकारले हुम्लामा स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । १ सय चौरी खरिद गरी केन्द्र स्थापना गर्न खोजिए पनि लकडाउनका कारण बजेट फिर्ता गएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ज्ञानेन्द्रबहादुर बुढाथापाले बताए ।

‘स्रोत केन्द्रका लागि क्षेत्र छनोट र प्रस्तावना माग गरी सर्टलिष्ट गर्ने काम सकिएको थियो,’उनले भने, ‘खरिद गर्न चीन जान नसक्ने अवस्था आएपछि बजेट फिर्ता गरिएको हो ।’ उनका अनुसार निर्माण सामग्री अभावले स्रोत केन्द्र भवन निर्माणको कामसमेत रोकिएको छ । बजेट फ्रिज गएपछि किसानमा निराश बनेको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

अछाममा क्‍वारेन्टाइनमा बसेका एकको मृत्यु

मेनुका ढुंगाना

अछाम — अछाममा क्‍वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका ५ को कैलाशेश्‍वर घट्टेखेती आधारभुत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार ती व्यक्ति गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

'शनिबार राति एक्कासी उनको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भय,' इन्सपेक्टर अवस्थीले भने ।

ती व्यक्तिको मृत्युपछि उनीसँगै अस्पताल गएका परिवारका अन्य २ जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : असार १४, २०७७ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×